Saturday, December 5

दुई महिनापछि सुनको मूल्य निर्धारण, यस्तो छ मुल्य

May 28, 2020 2168

काठमाडौं : दुई महिनापछि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुन थालेको छ। गत चैत ११ गतेबाट सरकारले बन्दाबन्दी घोषणा गरेपछि नेपालका सुनचाँदी विक्रेताहरूले सुनको मूल्य निर्धारण गर्न बन्द गरेका थिए। यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै उतारचढाव आइसकेको भए पनि नेपाली बजारमा भने यसको मूल्यांकन हुन नसक्दा अन्यौलता बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। त्यही अन्यौलता चिर्न भन्दै महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला ८६ हजार १ सय रुपैयाँ तोकेको छ।

बन्दाबन्दी सुरु हुनुअघि १० चैतमा प्रतितोला ७७ हजार रुपैयाँ तोकिएको थियो। यसरी नेपाली बजार बन्द हुँदै गर्दा सुनको भाउ नौ हजारभन्दा धेरैले महँगिइसकेको छ। यो मूल्य नेपाली बजारमा प्रकाशित मूल्यमध्ये हालसम्मकै उच्च पनि हो।कोरोना भाइरस संक्रमणको महामारीले सुरुवाती समयमा सुनको मूल्य ओरालो लागेको थियो। त्यसबेला प्रतिऔंश १७०३ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ १० दिनपछि १४६४ डलरमा झरेको थियो। उक्त न्यूनतम विन्दुमा झरेको भोलिपल्ट बाउन्सब्याक भएर सुनको मूल्य प्रतिऔंश १४९८ डलरमा उक्लिएको थियो।

सोही मूल्यलाई आधार मानेर नेपाली बजारमा १० चैतको मूल्य निर्धारण भएको थियो।तर, नेपालमा बन्दाबन्दी सुरु भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्यो। त्यसबेला तीन दिनमै सुनको भाउ १७१ डलरसम्म महँगिएको थियो। त्यसयता अझै बढेको सुन ५ जेठमा १७६५ डलरसम्म पुगेर केही ओरालो लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश १७१० डलर पुगेको मूल्यकै आधारमा बुधबारका लागि यहाँ प्रतितोला ८६ हजार १ सय मूल्य निर्धारण भएको हो।कोरोना संक्रमणले विकासोन्मुख ठूला अर्थतन्त्रबाट ठूलो लगानी बाहिरिएपछि अमेरिकी डलरको माग बढेको छ।

यसले डलरको भाउ उच्चतम विन्दुमा रोकिएको छ। बुधबारका लागि पनि राष्ट्र बैंकले अमेरिकी मुद्राको सन्दर्भ (बिक्री) मूल्य १२१ रुपैयाँ ३६ पैसा तोकेको छ। एकातिर अन्तर्राष्ट्रिय बजारमा सुन महँगिने र अर्कातिर डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा सुनको मूल्य आकाशिएको हो।चाँदीको भाउ भने लकडाउन अघिको तुलनामा निकै महँगो भए पनि कीर्तिमानी स्तरमा पुग्न सकेको छैन। महासंघले बुधबारका लागि चाँदीको भाउ प्रतितोला ८९० रुपैयाँ तोकेको छ। बन्दाबन्दी सुरु हुनुअघि चाँदी सस्तिएर तोलाको ७२० रुपैयाँमा झरेको थियो। चाँदीको भाउ यसअघि ९०५ रुपैयाँसम्म पुगेको छ।

प्रतिकृया दिनुहोस्