Tuesday, December 1

नेपालको कालापानी लिएर भारतको यो ठाउ नेपाललाई दिने भारतमा चर्चा

May 28, 2020 987

भारत र नेपालबीच एउटा सानो सडकलाई लिएर निकै भनाभन चलिरहेको छ । यो सडक पिथौरागढ र नेपालको सीमामा छ, जुन लिपुलेक, कालापानी क्षेत्र हुँदै कैलाश मानसरोवरसम्म जान्छ ।जब कच्चा सडकलाई पक्की बनाएर केही दिनअघि रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे, नेपालमा हलचल मच्चियो । नेपालको सत्तारूढ कम्युनिस्ट पार्टीले भारतविरोधी प्रदर्शन गरिदियो । नेपालले भारतीय राजदूतसँग सोध्यो कि नेपाली भूमिमा भारतले सडक कसरी बनायो ?

सत्तारूढ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त भारत कूटनीतिक समाधानको प्रयासमा आएन भने नेपालले कडा कारबाही गर्नुपर्ने बताइदिए । अर्कातिर, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना फैलिनुमा भारतलाई जिम्मेवार ठहराइदिए ।चीनकाे नाम नलिई भारतका सेना प्रमुख एमएम नरवणेले एक संगोष्ठीमा भनिदिएका थिए, ‘नेपाल अरुको इसारमा भारतसँग निहुँ खोजिरहेको छ ।’

अर्को शब्दमा ८० किलोमिटरको यो नयाँ सडकलाई लिएर एकपटक दुई छिमेकी देश, जसलाई म भातृराष्ट्र (भाइदेश) भन्छु, फेरि त्यही कटुताको जालमा फसाइँदै छ, जतिबेला सन् २०१५ मा हामीले नेपाललाई घेराबन्दी गर्दा देखिएको थियो ।

यो विवाद त्यही ३०–३५ किलोमिटर जमिनको हो, जुन हाम्रो ८० किलोमिटर सडकको हिस्सा हो । यो जमिन भारत, नेपाल र तिब्बतको त्रिकोणमा छ । यो क्षेत्रको प्रयोग सयौँ वर्षदेखि ३ देशका बासिन्दाले गर्दै आएका छन् ।तर, सन् १८१६ मा भारतको इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच सुगौली सन्धि भयो, जसमा नेपालका राजाले भनेका थिए कि काली नदीको पश्चिमको कुनै हिस्सामा नेपालको अधिकार हुने छैन ।

यही पश्चिम हिस्सामा नै विवादास्पद सडक छ । नेपालको हिस्सामा काली नदीको पूर्वी क्षेत्र पर्छ ।सुगौली सन्धिमा जुन काली नदी उल्लेख गरिएको छ, त्यसमा उसको पश्चिमी हिस्सा पनि रहेको नेपाल सरकारको भनाइ छ, जसमा भारतले आफ्नो अधिकार जमाइराखेको छ ।सन् २००० मा पनि नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतका प्रधानमन्त्री अटलबिहारी वाजपेयीसँग प्रस्ताव गरेका थिए कि यसलाई वार्तामार्फत सुल्झाऔँ ।

दुवै देशको सीमा निर्धारणका लागि सन् १९८१ मा जुन संयुक्त कार्यदल बनाइएको थियो, उक्त कार्यदलले ९८ प्रतिशत सीमा तय गरेको थियो, मात्र कालापानी र सुस्ता दुई विवादबाहेक ।अहिले कैलाश मानसरोवर सडकको उद्घाटन भएको छ, यसैको झोँकमा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको छ, जसमा पिथौरागढको क्षेत्रलाई नेपालको सीमामा देखाइएको छ । सुगौली सन्धि हुँदा नेपालसँग नक्सा छाप्ने व्यवस्था थिएन । ब्रिटिस नक्साको मनपरी ब्याख्या बेला–बेला भइरह्यो ।

सन् १९६२ मा भारत–चीन युद्धपछि नेपालले यो सडकमा दाबी गरेको थियो । तर, यो क्षेत्रमा भारतकै अधिकार रहँदै आएको छ । सन् २०१५ मा जब भारत–चीनले लिपुलेक क्षेत्रबाट व्यापार मार्गको सम्झौता गरे, त्यतिबेलै पनि नेपालले विरोध गरेको थियो । यति मात्र होइन, ५–६ वर्षअघि नेपालले दुई देशका सचिवस्तरीय वार्ताबाट यो विवाद सुल्झाउने प्रस्ताव पनि राखेको थियो ।अहिले पनि नेपाल सरकारको आधिकारिक धारणा यही हो तर, आन्तरिक राजनीतिक मामिलामा सरकार अल्झिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्थ गर्नका लागि अभियान चलाइरहेका छन् ।

छिमेकी देशमा राष्ट्रवादलाई भड्काउनुपर्‍यो भने उनको हतियार हो, भारत विरोध !

भारतीय विदेश मन्त्रालयले कोरोनाको संकट टरेपछि सीमा विवाद समाधानका लागि कुराकानी गर्ने भनेको छ ।तर, भारतीय सेना अध्यक्ष नरवणेको अभिव्यक्तिलाई जोडतोडका साथ उछाल्ने काम भइरहेको छ । भारतीय सेनामा करिब ६० हजार नेपाली गोरखा जवान छन् । नरवणेको अभिव्यक्तिको असर ती जवानमा के हुन्छ ?

नरवणेले यस्तो अभिव्यक्ति नदिएका भए राम्रो हुन्थ्यो भन्ने लागेकाे छ । नेपालका केही पार्टीका नेताहरूसँग मेरो कुराकानी भयो । उनीहरू जनताका सामु चाहे जे बोलुन्, तर, सबैको मनशाय यो विवादलाई धेरै उचाल्नु हुँदैन भन्ने नै छ ।

त्यसैले कोरोना संकट टरेपछि होइन, म त भन्छु, तत्कालै दुई देशबीच वार्ता किन सुरू नगर्ने ?

नेपालकी पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले निकै व्यावहारिक सुझाव दिएकी छन् । नेपाल–बङ्गलादेश सीमान्तमा भारतको जुन फूलबारी क्षेत्र छ (१८ किलोमिटर), भारतले उक्त क्षेत्र नेपाललाई लिजमा दियो भने बंगालको खाडीसम्म पुग्नमा जमिनबाट घेरिएको नेपाललाई सुविधा हुन्छ र कालापानी क्षेत्रलाई भारतले नेपालसँग लिजमा लियो भने विवाद सल्टिन्छ ।

मेरो भनाइ त यही छ कि नेपाललाई हामी भाइदेश मान्छौँ भने ३५ किलोमिटर जमिन, जो हाम्रै हो, हामीले आफैसँग राखौँ र त्यसको बदलामा कुनै पनि सीमान्तमा त्योभन्दा २ गुणा बढी जमिन प्रस्ताव गरौँ ।यसबाहेक अन्य कैयौँ व्यावहारिक समाधान हुन सक्छन् । तर, यो चाँडोभन्दा चाँडो पहिल्याउन आवश्यक छ । (भारतीय विदेश नीति परिषद्का अध्यक्ष डा. वेदप्रताप वैदिकले दैनिक भाष्करमा लेखेको लेखको शब्दानुवाद)

प्रतिकृया दिनुहोस्