Monday, March 8

भोलि नेपाल बन्दको घोषणा

February 3, 2021 98

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरङ्कुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौँ।’

यसैबिच प्रचण्ड-नेपाल पक्षले पेरिस डाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। रिजालले ट्विटरमा लेखेका छन् ‘नेकपाले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ।’

राष्ट्रपति कार्यालयमा बुधवार आयोजित एक विशेष समारोहमा संवैधानिक अङ्गका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाएका थिए। त्यस्तै सदस्यहरूलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३२ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको छन्।
संवैधानिक परिषद्को सिफारिसमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरूको नियुक्ति गरिएको हो।

नेकपाले यसबारे आधिकारिक जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको हो। विवादका बिच भएको संवैधानिक निकायका पदाधिकारीहरूको आज शपथ ग्रहण गराएपछि प्रचण्ड पक्ष रुष्ट बनेको छ। मङ्गलवार यो समूहले निर्वाचन आयोगमा नेकपाको आधिकारिकताका लागि दाबी पेस गरेको थियो। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असंवैधानिक कदम भन्दै यो समूह सडक सङ्घर्षमा छ।

प्रतिकृया दिनुहोस्