Monday, November 30

‘एक्लो छोरो थ्यो, दलित भएर ठूलो जातको केटी भगाउने भन्दै मा;रे , घटनाको भित्रि रहस्य यस्तो

May 26, 2020 1106

काठमाडौं । भेरी नगरपालिका ४, रानागाउँकी उर्मिला विश्वकर्माको अवस्था वैशाखसम्म ठीकै थियो । पति मोहनलाल नेपाली ढाडका बिरामी छन् । पुर्ख्यौली काम गर्दा–गर्दै ढाड सड्काएका मोहनलाल मेलापात त परै जाओस्, हिँडडुलसमेत गर्न सक्दैनन् । मेलापात, भारोपर्मदेखि छोराछोरीलाई बाटो देखाउनेसम्मको दायित्व उनै उर्मिलाकै काँधमा आएको छ ।तैपनि उर्मिला निराश थिइनन् । तामाका मुनाजस्ता चार छोरोछोरी थिए । उनीहरूको अनुहार हेरेर उनी आफ्नो दुःख बिर्सन्थिन् । र, पतिको स्याहारमा अविराम जुट्थिन् । जेठी छोरीको विवाह भइसकेको थियो । तीन सन्तानले पनि बाटो खोजिरहेकाले उनीहरूको भविष्यप्रति निश्चिन्त थिइन् । बरु पतिकै चिन्ताले हमेसा पिरोलिरहन्थ्यो ।

गत पुस १२ गते हुनुपर्छ, सावाँ अक्षर खुट्याउन नसक्ने उर्मिलालाई तिथिमिति ठ्याक्कै याद छैन । यति भन्न सक्छिन् । आकाश निकै धुम्मिएको थियो । पानी पर्लापर्लाजस्तो भएको थियो । दिउँसोपख एक युवती आइन् ।छोरो नवराज पनि सँगै आएकाले ‘साथी होला नि’ भन्ठानेर सोधीखोजी पनि गरिनन् । “छोरोसँग आएकी थिई अन्यथा के सोच्नु !,” उनी बाह्रखरीसँग कुराकानीमा त्यो दिन सम्झने कोसिस गर्छिन्, “आफ्नो छोरो भनेर होइन, गाउँमा उसको बेग्लै मान थियो । उसका साथीहरू पनि थुप्रै थिए । ती सबै घरमा आउजाउ गर्थे । केटी साथी पनि थपिई छ क्यारे ठान्यौं ।”पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ मा घर रहेछ उनको । मल्ल थरकी किशोरी रहिछन् ।

“आफूभन्दा माथ्लो जातको केटी भन्ने थाहा पाएपछि मलाई असाध्यै डर लाग्यो,” उनी भन्छिन्, “गाउँलेले के भन्लान् ठानेँ र छोरालाई एकान्तमा बोलाएर ‘उसकै घर पुर्‍याइदे, घर ल्याउनुहुन्न क्या बाबु’ भनेँ ।”माथ्लो जातको केटी ल्याएको थाहा पाएपछि छोरालाई दुई हातै जोडेर बिन्ती गरेको उर्मिला बताउँछिन् । तर छोराले टेरेनन् । “बरु दुईचार दिन यतै बस्छिन् । तपाईंलाई सघाउँछिन् भन्न थाल्यो । मलाई धेरै डर लाग्यो । छोरालाई हप्काइदप्काइ पनि गर्न सकिनँ,” उनी थकथकी मान्दै सुनाउँछिन् ।त्यसपछि नवराजको चौरजहारी जाने क्रम बाक्लियो । खेल्नमा असाध्यै रुचि राख्थे । भलिबल, फुटबल आदि खेल्थे । त्यो बहानामा उनी चौरजहारी गइरहन्थे । खेल्ने क्रममै उनका बग्रेल्ती साथी थिए ।

चौरजहारी आउने–जाने क्रममा किशोरीसँग उनको हिमचिम बढिसकेको रहेछ । पुस २९ गते साँझतिर हुनुपर्छ, उनी फेरि आइन् । त्यसपटक पनि छोरोसँगै आएकी उनी तीन दिन बसेर गइन् । बिहे नगरेकी किशोरी पटक–पटक आउजाउ गर्न र बासै बस्न थालेपछि उर्मिला थप आतंकित भइन् । उनले छोरालाई हप्काइन् पनि ।“दोस्रोपटक पनि घरमा ल्याएपछि मैले छोरालाई बेस्सरी हप्काएँ । ‘हामीलाई उसै त गाउँका मान्छेले निको मान्दैनन् । ठूला जातको मान्छेलाई आँखा लगाउने भनेर भनाइ खानुपर्छ । अरूले भन्ने बाटो नदे’ भनेर सम्झाइबुझाइ गरेकी थिएँ । उसको मायामा अन्धो भइसकेको रहेछ के मान्थ्यो,” उर्मिलाको भनाइ छ ।त्यसपछि केही समय युवती आउने क्रम रोकियो । बरु छोरो फोनमै झुन्डिरहन्थे । उनीहरूको सम्बन्धबारे गाउँमा गाइँगुइँ चल्न थालिसकेको थियो । साथीसङ्गातीले जिस्क्याउँथे पनि । तैपनि किशोरी घरमा आउजाउ नगरेकाले उर्मिला ढुक्क थिइन् ।

वैशाख मध्यतिर हुनुपर्छ । उर्मिला बारीको काममा व्यस्त थिइन् । नवराजलाई प्रहरीले पक्राउ गरेको खबर पो आयो । उनी हान्निँदै वडाध्यक्षलाई भेट्न गइन् । तर, वडाध्यक्षले केही सहयोग नगरेको उनी बताउँछिन् ।“छोरोले के बदमासी ग¥यो । म खानेपानीको काममा छु भनेर टारे । एक्लै चौकीमा गएर रोइकराइ गरेर छुटाएर ल्याएँ । केटी पक्षले सानो जातिले ललाइफकाइ गरेको र केटीको मञ्जुरीबिनै जबरजस्ती भगाउन खोजेको आरोप लगाएको रहेछ । मैले बेलिविस्तार लगाएपछि प्रहरीले पनि कुरा बुझ्यो र छाडिदियो,” उनी त्यसदिनको घटना सम्झिँदै भन्छिन् ।

वैशाखको अन्त्यतिर किशोरी फेरि उर्मिलाको घरमा आएकी थिइन् । त्यसदिन नवराजको जन्मदिन थियो । किशोरीले भाइ पनि साथै लिएर आएकाले उनले केही पनि भनिनन् । भाइ बसे । किशोरीलाई चाहिँ नवराजले मोटरसाइकलमा राखेर घरै पुर्‍याइदिएको उर्मिला बताउँछिन् ।नवराजसँगको प्रेम सम्बन्धबारे परिवार पनि जानकार रहेको उर्मिलाको दाबी छ । योबीच एक–दुईपटक किशोरीका परिवारले नवराजलाई धम्क्याएका पनि थिए ।उर्मिलाले पनि छोराको प्रेमसम्बन्ध छुटाउन नखोेजेकी होइनन् । उनले ती किशोरीलाई पनि सम्झाएको बताउँछिन् । किशोरीले अहिलेको कालमा सानोठूलो जात हुँदैन र यसमा अल्झनुहुँदैन भनेर उल्टै सम्झाएको उर्मिलाको कथन छ ।

“तल्लो जातको भएर आफ्नो ठाउँमा बस्नुपर्छ भनेर गालीगलौज गरेका थिए । छोराले त भनेको होइन,” आमा उर्मिला बिलौना गर्दै भन्छिन्, “उसका साथीहरूले पनि सम्झाउने कोसिस गरेका थिए रे !”तर पनि नवराज किशोरीसँगको प्रेमबाट पछि हट्न नमानेको आमा गुनासो गर्छिन् ।शनिबार १० गते दिउँसो १२ बजेतिर ‘…लाई भगाउन जाउँ’ भनेर साथीहरू बटुलेको मात्रै उर्मिलालाई थाहा छ । नवराज कसरी त्यो गाउँमा पुगे भन्ने पूरै भेउ पाइसकेकी छैनन् । किशोरीले नै ‘मलाई भगाएर लैजाऊ’ भनेर बोलाएपछि मात्रै चौरजहारी गएको साथीभाइले बताएका छन् । पुत्रवियोगको आँसुमा चुर्लम्म डुबेकी उर्मिलाले यकिन गर्न सकेकी छैनन् ।

रानागाउँका १० र अन्यत्रका ९ जना जम्मा भएर चौरजहारी पुगेका रहेछन् । बाटामा युवाको हुल आएको छ भन्ने थाहा पाएपछि चौरजहारी नगरपालिकाकै केही जनप्रतिनिधिसहितको समूहले घरेलु हातहतियार प्रयोग गरेर छोराको हत्या गरेको उनको दाबी छ ।“दिउँसो १२ बजेतिर साथीहरू बटुलेर हिँडेछ । एकपटक चौकीमा पुर्‍याइसकेकाले जे पनि गर्न सक्छन् लागेको थियो । मैले भनेको मानेन, अपराधीहरूले मारिदिए,” बोल्दाबोल्दै उनको गला अवरुद्ध हुन्छ । गाउँलेहरूले लखेटी–लखेटी छोरासहित रानागाउँकै टीकाराम सुनुवारको पनि हत्या गरेपछि ज्यान जोगाउन भेरीमा हाम फालेका युवा वेपत्ता भएको उनी बताउँछिन् । हाम फाल्नेमध्ये सोमबार थप एकजनाको शव भेरीको बगरमा फेला परेको छ । एकजनाको अवस्था अझै अज्ञात रहेको स्थानीय बताउँछन् ।

“छोरा र उसको साथी टीकारामलाई कुटीकुटी मारेछन् । आँखाअगाडि नै कुटीकुटी मारेको देखेपछि ज्यान जोगाउन हाम फालेका अरू पनि भेटिएका छैनन् । छोराको शव कहाँ राखेका छन् हामीलाई थाहा छैन । कोही सोध्न पनि आएका छैनन् । सानो जातले ठूलो जातलाई मन पराउनु हुँदैन भने कानुन लगाएर जेल हालेको भए पनि हुन्थ्यो । मारिदिए बाबु ! कसलाई गुहार माग्न जानु ! सरकारले हाम्रो पीडा सुन्दो रहेनछ !,” उर्मिला निरूपाय हुँदै पीडा पोख्छिन् ।दलित भनेर सबैको हेलाहाँसोमा परेको उर्मिलाको दुखेसो छ । भेरी नगरपालिकाका मेयर, वडाध्यक्ष, प्रहरी कसैले पनि आफ्नो पक्षमा नबोलिदिएको र पोस्टमार्टम पनि भए, नभएको आफूलाई थाहा नदिएको उनले बताइन् ।

“कुन हो कागजमा दस्तखत गर्न आउनु भनेर खै कसले पो फोन गरेको थियो,” उर्मिलाले बाह्रखरीसँग रुँदै भनिन्, “छोरालाई के कति कारणले मारेको हो ? अहिले हातहतियार बोकेर गएकाले लखेट्नुपरेको हो भनेर गाउँलेले बयान दिएका छन् भन्ने सुनेको छु । हतियार बोकेर गएकै भए पनि चौकीमा बुझाउने कि मारेर खोलामा फालिदिने ?”उनले चौरजहारी ८ का सबैलाई पक्राउ गरेर बयान लिनुपर्ने बताउँछिन् । ढुङ्गाले हिर्काइहिर्काइ मान्छे मार्दा पनि समाज रमिते बनेको उनको आरोप छ । “कस्ता मान्छे हुन् त्यहाँका ? दलित भएर ठूलो जात ताक्दै हिँड्ने भन्छन् रे ? गाउँ नै मिलेर दलित भन्दै मार्दै गर्न पाइन्छ ? देशमा न्याय, निसाफ, कानुन छैन ?” उनी आक्रोशित हुँदै प्रश्न गर्छिन् ।एक्लो सहारा गुमाएर विह्वल बनेकी उर्मिलाको न्याय पाउने आश मरिसकेको छ । गरिबीबाट निर्मम डामिएकी उर्मिलालाई पुत्रशोकको पीडा पनि थपिएको छ । “दलित भनेर सबैले हेलाहाँसो गर्दा रहेछन् । ठूलो जातको चेलबेटीमा आँखा लगाएपछि यस्तै हो भनेर अरूले पनि खासै वास्ता गरेका छैनन् । हाम्रो त कोही रहेनछ !,” उनी आश मार्दै भन्छिन् ।

प्रतिकृया दिनुहोस्