Wednesday, December 2

युएईमा सबैभन्दा बढी नेपालीले रोजगारी गुमाउँदै

May 23, 2020 220

कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ। युवालाई वैदेशिक रोजगारीमा पठाउने वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययनअनुसार कोरोनाको सबभन्दा बढी असर युएईमा रहेका नेपालीमा पर्ने देखिएको हो।

युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने सम्भावना रहेको संघले जनाएको छ। ‘कोरोनाले युएईका होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ,’ संघका महासचिव सुजितकुमार श्रेष्ठले भने, ‘जसले गर्दा होटल, पर्यटन क्षेत्रमा काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका/गुमाउँदै छन्।’

वैदेशिक रोजगार विभागका अनुसार हाल दुबईलगायत युएईका विभिन्न सहरमा करिब ४ लाख नेपाली कार्यरत छन्। कोरोना भाइरसले महामारीको रूप लिनु अघिसम्म दुबई, आवुधावीलगायतका विमानस्थलमा ठूलो संख्यामा नेपाली, सुरक्षा गार्डका रूपमा काम गर्थे।

युएईपछि कतार र साउदी अरेबियामा रहेका धेरै नेपाली रोजगारी गुमाएर घर फर्कने देखिएको छ। संघका अनुसार ती दुई गन्तव्य मुलुकमा रहेका करिब २०/२० प्रतिशत नेपाली रोजगारी गुमाएर स्वदेश फर्किंदैछन्। कोरोना भाइरसका कारण अधिकतर मुलुकमा रहेका नेपाली रोजगारी गुमाएर फर्किने देखिएपछि आन्तरिक रोजगारी सुदृढ गर्नुपर्ने माग उठेको छ।

खाडी मुलुकले गरिरहेको तेलको व्यापार पनि कोरोना महामारीपछि घटेकाले आफूहरूको रोजगारी प्रभावित हुने त्यहाँ रहेका नेपालीले बताएका छन्। विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर रोजगारीमा गएकामध्ये करिब २५ लाख नेपाली खाडी मुलुक र मलेसियामा छन्। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्