Saturday, December 5

अब भ्रष्टाचार गर्नेलाई १४ वर्ष कैद सजाय

May 22, 2020 221

काठमाडौं, ७ जेठ । राष्ट्रिय समाभाको विधायन व्यवस्थापन समितिले भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय गर्ने सहमति जुटाएको छ ।समितिले जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्थालाई उल्ट्याएर १० करोड भन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि १४ वर्ष कैद सजाय गर्ने सहमति जुटाएका हो ।त्यस्तै, शुक्रबार बसेको समिति बैठकमा जुटेको सहमतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म भ्रष्टाचार गरेमा ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनेछ ।

५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्रष्टाचार गरेलाई ६ वर्षदेखि ८ वर्षसम्म र २५ लाखदेखि ५० लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई ४ वर्षदेखि ६ वर्षसम्म कैद सजाय हुनेछ ।यसैबीच ५ लाखदेखि २५ लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई २ देखि ४ वर्षसम्म, १ लाखदेखि ५ लाख रुपैयाँसम्म भ्रष्टाचार गर्नेलाई १ देखि २ वर्षसम्म कैद सजाय हुनेछ ।

यसका साथै, ५० हजारदेखि १ लाखसम्म भ्रष्टाचार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ, भने ५० हजार रुपैयाँसम्म भ्रष्टाचार गरेमा १ महिनादेखि ६ महिनासम्म कैद सजाय हुनेछ ।यो सजाय राष्ट्र सेवक कर्मचारी तथा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने विधेयकमा उल्लेख गरिएको छ ।नेपालले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको महासन्धिमा हस्ताक्षर गरेकाले सरकारी, निजी क्षेत्र र राजनीतिक क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नका लागि भ्रष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस्