Saturday, December 5

कोरोनाबाट निधन भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले गरे यति ठुलो सहयोग

May 18, 2020 288

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट निधन भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको निधन भएको थियो । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने बताउनुभएको हो । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा

कोरोनाको सङ्क्रमणबाट निधन भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिनुभयो । सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको छ ।

शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पिसिआर परीक्षणसमेत गर्न लागिएको उहाँले सुनाउनुभयो । कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि नष्ट गरिएको छ । कोरोना सङ्क्रमित भई निधन भएकाको शव जलाएपिच्छे पिपिई परिवर्तन गर्दा अभाव हुनसक्ने चुनौतीसमेत थपिएको छ ।

कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको छ । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ ।

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने कर्मचारीको समेत अभाव हुन सक्ने देखिएको छ । जम्मा छ जना कर्मचारीले हाल तालीम लिएर यन्त्र चलाउँदै आएका छन् । पिसिआर परीक्षणपछि कर्मचारीलाई कोरोना पोजेटिभ देखिए अरुलाई तालीम दिन तीन महीना लाग्नेछ ।

नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालीम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्नसक्ने जनाइएको छ ।

पशुपतिको क्रियापुत्री घर पनि सरसफाइका लागि तीन दिनसम्मका लागि बन्द गरिएको छ । १३ दिनसम्म क्रियापुत्री बसिकेपछि सफाइका लागि तीन बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री एवं भेटघाटका लागि आउने आफन्तमा कोरोना सङ्क्रमण नफैलियोस् भनी यस्तो सतर्कता अपनाइएको कोषले जनाएको छ ।

कोरोनाले निधन भएका महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस सङ्क्रमणबाट धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा निधन भएको थियो । मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार १० दिनकी सुत्केरीको कोरोना सङ्क्रमणका कारण निधन भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरी आइसोलेशनमा राखिएको थियो ।

मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको क्वारेन्टाइनमा राख्नेगरी पठाउन लागिएको झाले जानकारी दिनुभयो । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पु¥याइएकी ती महिलाको केही समयपछि नै निधन भएको थियो । मृतक परिवारका सदस्यले नै ती महिलाको स्वासप्रस्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पु¥याएका थिए ।

मृतकका परिवारले चिकित्सकलाई वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि ती महिलाको स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । धुलिखेल अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी धुलिखेल ल्याइएको थियो । उहाँका अनुसार धुलिखेल अस्पतालमा पिसिआर परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडाँै पठाइएको थियो ।

शनिबार साँझ स्वास्थ्य मन्त्रालयले ती महिला कारोना भाइरसका कारण निधन भएको पुष्टि गरेको थियो । मन्त्रालका अनुसार कोरोना भाइरसबाट निधन हुने ती महिला नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण एक महिला र एक पुरुषको निधन भएको छ ।

ती महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको ताम्राकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइतबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

प्रतिकृया दिनुहोस्