Thursday, January 21

चीनमा फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै

May 17, 2020 250

बेइजिङ : चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ । कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।

प्रतिकृया दिनुहोस्