Wednesday, January 27

भोलिदेखि बैंकहरू फेरि बन्द गरिँदै, राष्ट्रबैंकको कडा निर्देशन

May 13, 2020 379

काठमाडौं – मन्त्रिपरिषद् बैठकको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीवारदेखि फेरि बन्द हुने भएका छन् ।नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन दिँदै अधिकांश शाखा बन्द गर्न निर्देशन दिएको छ ।

आईतवारदेखि बैंकहरूले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्रबैंकले सबै शाखा कार्यालयहरू नखोल्न कडा निर्देशन दिएको छ ।

राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरूले परिचयपत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने बताए । सीमित शाखाहरू खोल्नका लागि राष्ट्रबैंकले बुधवार बैंकहरूलाई केही पास वितरण गरेको छ । पास लिएर मात्रै बैंकका कर्मचारीहरू आवातजावत गर्न पाउने भएका छन् ।

ढकालका अनुसार राष्ट्रबैंकले २७ वाणिज्य बैंकहरूलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरूलाई १० वटाका दरले पास दिएको छ ।फाइनान्स कम्पनीहरूलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरूलाई प्रतिसंस्था ५ वटाका दरले पास वितरण गरिएको ढकालले बताएका छन् ।

वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालय नखोल्ने निर्णय गरेको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले आवश्यकता अनुसार थोरै कर्मचारी राखेर केही शाखाबाट मात्रै सेवा दिने मौखिक निर्णय भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्