Saturday, January 16

काठमाडौंबाट गाडीमार्फत खोटाङ पुगेका एक युवाको नतिजा पोजेटिभ

May 12, 2020 332

काठमाडौं । तराईका जिल्लामा कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थामा पहाडी जिल्लामा पनि संक्रमण देखिन थालेको छ । खोटाङमा -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मार्फत कोरोना परीक्षण गर्दा पहिलोपटक पोजेटिभ नतिजा आएको छ । साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । पोजेटिभ नतिजा आएको घरमा गाउँपालिकाले सिलबन्दी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झङ्कार)ले दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौंमा अस्थायी बसोवास गर्दै आएका २३ वर्षीय युवकको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको हो । २३ वर्षीय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ । उनीहरूको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि कोरोना संक्रमण भए–नभएको पुष्टि हुन बाँकी छ । पीसीआरमार्फत परीक्षण गरेपछि उनीहरू संक्रमित भए–नभएको पुष्टि हुनेछ ।

अध्यक्ष खड्काले पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरूको परिवारका अन्य सदस्यको पीसीआर परीक्षण गर्न थ्रोट स्वाब संकलन गरेर पठाउने तयारी भएको जानकारी दिएका छन् । पीसीआरको रिपोर्ट नआएसम्मका लागि उनीहरूको घरलाई पूर्ण रूपमा सिल गरिएको अध्यक्ष खड्काले जनाएका छन् ।

काठमाडौंबाट आएलगत्तै १४ दिन क्वारेन्टाइन बसेपछि होम क्वारेन्टाइनमा पठाइएको अवस्थामा उनीहरूको आरडीटी परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा४ख २१२९ नम्बरको गाडीमा १२ वैशाखमा ३७ जना र १३ वैशाखमा २३ वर्षीय युवक चढेको बा४ख ५०२८ नम्बरको गाडीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका तर्फबाट आरडीटी कीट ल्याएर परीक्षण सुरु गरिएकै दिन दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँपालिकाले आरडीटी पोजेटिभ आएसँगै लकडाउन कडाइ गरेको छ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्ने नाका पूर्ण रूपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकाले दुई दर्जन टेस्ट कीट खरिद गरेर दोस्रो चरणको आरडीटी सुरु गरेको हो । राजधानी दैनिकमा यो खबर छ

प्रतिकृया दिनुहोस्