Friday, January 22

अन्तरजातीय विवाह गरेका श्रेष्ठलाई आफ्नै आमाको दागबत्ती दिन गाँउलेले गरे रोक

May 11, 2020 365

रामपुर, २९ वैशाख – अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ । यही वैशाख २६ गते ७३ वर्षीया आमा मनकुमारी श्रेष्ठको निधन भएपछि अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद गरी छुट्टै ठाउँमा श्रेष्ठ र उनकी श्रीमती सरिता नेपालीलाई छाप्रो बनाएर राखिएको छ ।

चौध वर्षअघि अन्तरजातीय विवाह गरेका श्रेष्ठ बिहे गरेदेखि नै छुट्टै बस्दै आएका छन् । आमाको अन्तिम दाहसंस्कारमा दागबत्ती दिनसमेत रोक लगाइएको थियो । काजक्रियाका लागि घर नजीकै एउटा छाप्रो बनाएर श्रेष्ठलाई राखिएको छ । यो खबर थाहा पाएलगत्तै शनिबार बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले परिवारका सदस्यलाई भेटेर घरभित्रै अरुसरह नै संँग राखेर काजक्रियामा सहभागी गराउन अनुरोध गरेका छन् ।

‘अन्तरजातीय विवाह गरेकै आधारमा छुट्टै राख्न पाइँदैन, घरभित्रै अरु सरहसँगै राख्न निर्देशन दिएको छु ’, अध्यक्ष बस्यालले भने । श्रेष्ठका तीन भाइ दाजुभाइमध्ये दुई भाइ विदेशमा छन् । उनलाई अन्तरजातीय विवाह गरेको भन्दै बुटवलमा बसोबास गरेका जेठी आमाका छोरा रामलाल आएपछि मात्र पार्थिव शरीरमा दागबत्ती दिइएको थियो । अन्तरजातीय विवाह गरेदेखि नै पूर्णमान ससुरालीमा बस्दै आएका छन् । पोखरामा गाडीमा सहचालकको काम गर्ने श्रेष्ठका श्रीमती र दुई सन्तति हुन् ।

प्रतिकृया दिनुहोस्