Saturday, January 23

पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि, ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियो

March 17, 2020 304

लिस्बन, पोर्चुगल। पोर्चुगलमा कार्यरत एक नेपाली नागरिकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखेर परीक्षण सुरु गरिएको छ ।

पोर्चुगलको अल्र्गाभ फारो भन्ने स्थानमा रहेको एक कृषि फार्ममा कार्यरत ती नेपालीलाई भाइरस संक्रमणको पुष्टि भएपछि उनीसंगै फार्ममा कार्यरत अन्य ७४ नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको हो । ‘सेन्ट्रो डि साऊदे’ नामक अस्पतालले गरेको क्वारेन्टाइनको व्यवस्थापनमा सबै नेपालीलाई कडा निगरानीमा राखिएको बताइएको छ ।

पोर्चुगल बिदेशी नागरिक हेर्ने निकाय ‘स्ट्नजेरो फ्रन्टियर्स’ ले पनि कृषि फार्ममा कार्यरत एक नेपालीमा संक्रमणको पुष्टि भएपछि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको पुष्टि गरेको छ ।
फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले पनि यो घटनाको पुष्टि गर्दै फारोमा रहेका विदेशीहरु माथि कडा निगरानी सुरु गरिएको बताएका छन् ।

पोर्चुगलमा हाल वैध अवैधरुपमा काम गर्ने नेपालीको संख्या ३० हजारको हाराहारीमा रहेको जनाइएको छ । पोर्चुगलमा पछिल्लो समयमा ३ सय ३१ जना कोरोना भाइरस कोभिड –१९ को भाइरसबाट संक्रमित भएका छन् भने यहाँ उच्च सतर्कता अपनाइएको छ । सडकमा मानिसको चहलपहल घटेको छ । पोर्चुगलवासीहरु दैनिक आवश्यक वस्तुको अभावमा पीडित समेत बनेका छन् ।

उता ८ हजारको हाराहारीमा नेपाली रहेको बेल्जियममा पनि कोरोना भाइरसको प्रभाव तीब्र बन्दै गएको छ । बेल्जियममा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८५ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

तस्बीर ः तुलसीराम थपलियाको फेसबुकबाट

प्रतिकृया दिनुहोस्