काठमाडौँ । कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए।
नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए। उनीहरू किन डिपोर्टमा परे ? सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो।
शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षाकर्मीले सनैयास्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए। उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए। ‘अहिले कोरोनाको चेक भइरहेको छ । गाडी तेरो हो । मान्छे तैँ नै हो। तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो। उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए ।‘कोरोनोको बिगबिगी चलेको छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइदियो। मोबाइल स्विच अफ गरिदियो।’
उनले कसैलाई सम्पर्क गर्न पाएनन् । प्रहरीको भ्यान ग्रान्ड मल मार्केटमा गएर केहीबेर राखेपछि उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो। त्यो जेलभित्र धमाधाम पक्राउमा परेका नेपाली, बंगाली, पाकिस्तानी र इथोपियनलाई ल्याइरहेको थियो। जेलभित्र एकैछिनमा झापाको काँकडभिट्टाका कृष्ण भट्टराईसहितको टोली आइपुग्यो। ४६ वर्षीय भट्टराई दुई वर्षदेखि वकिल ट्रेड सर्भिस कम्पनीको फोरम्यान थिए । उनी सल्वारोडमा तरकारी किन्न गएका थिए।
‘मान्छे समात्न प्रहरीले ८–१० वटा बस लिएर गएको रहेछ। बाटोमा जो जो भेट्छ। सबैलाई बसमा हालेर ल्यायो। ती सबै बस कामदारले भरिएका थिए,’ उनले थप जानकारी दिए, ‘किनमेल गरेर कामदारलाई ल्याइरहेको रेड्को अलमान कम्पनीको बसलाई त क्याम्पतिर छिर्न नै दिइएन। बाटोबाटै घुमाएर प्रहरी थानाभित्र ल्यायो।’
उनीहरूलाई राखिएका जेलका सबै भवनहरू शुक्रबार समातिएका कामदारले भरिएका थिए। ‘मान्छे कति थिए कति,’ अल वन्दरी इन्जिनियरिङ कम्पनीमा काम गर्ने धनुषाका अशेश्वर खत्वेले भने, ‘कोठामा नअटेर बरन्डामा राखिएको थियो । मान्छेलाई आँखाले हेरेर भ्याउँदैन्थ्यो, त्यत्रा मान्छे थिए। हजारभन्दा बढी थिए होला।’
कतारमा दुई हजार नेपाली क्वारेन्टाइनमा
मान्छे धेरै भएर होला, प्रहरीले थालमा समेत खाना खुवाउन सकेनन्। ‘लामो प्लास्टिकलाई भुइँमा बिछ्याइएको थियो। त्यसमाथि भात हाल्दै जान्थ्यो। हामीलाई प्लास्टिकको दायाँबायाँ लाममा राखिएको थियो। जसले जति पाउँछ। त्यति खान्थ्यौं,’ भट्टराईले भने, ‘प्रहरीलाई भित्र कति कैदी छ भन्ने नै थाहा भएन। बेडसिटकै प्लास्टिकलाई च्यातेर सुत्नुपर्यो।’ आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
प्रतिकृया दिनुहोस्