Tuesday, January 26

नेपालमा कोरोना फैलिने भारत नै एकमात्र स्रोत : नयाँ संक्रमित यसरी लुकिछिपी नेपाल आएका थिए

May 9, 2020 313

रूपन्देही । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को एकमात्र स्रोत भारत नै भएको अब चै एकिन भएको छ । अधिकांश संक्रमित भारतबाट आएकाहरु मात्र छन् । कपिलवस्तुमा फेला परेका थप तीन जना कोरोना संक्रमित युवाहरुपनि यसअघि मुम्बईबाट आएका
थिए । उनीहरु दुई जना संक्रमितहरुसँगै लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरु पाँचै जना यही बैशाख २४ गते राति लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार रातको समयमा नेपाल प्रवेश गरेका उनीहरु पाँचै जना भारतको मुम्बइबाट सँगै आएका थिए । आज कोरोना पुष्टि भएका तीन जना र यसअघि फेला परेका दुई जना युवाहरु कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ अभिरावका हुन् ।

वडा नं. २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानका अनुसार मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले उनीहरुलाई गाउँमा प्रवेश गर्न नदिइ बाटोमै रोकेर क्वारेन्टाइनमा पठाएका थिए । यसअघि कोरोना पुष्टि भएका कपिलवस्तुका २ जना बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत छन् । नयाँ संक्रमित ३ जनालाई पनि आज बुटवल ल्याइँदै छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भए पनि लक्षण भने देखिएको छैन । उनीहरु पाँचैजना मायादेवी १ को पकडी छत्रपाली माबिमा बनाइएको क्वारेन्टाइनमा थिए । सो क्षेत्रमा हाल आउ–जाउ बन्द गरिएको छ ।

कपिलवस्तुका पाँच जनासमेत गरी प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३० पुगेको छ । यसअघि बाँकेको नेपालगञ्जमा २४ र रुपन्देहीमा १ जनालाई कोरोना पुष्टि भएको थियो । यता उदयपुरको भुल्केमापनि कोरोना संक्रमणको स्रोत भारत नै हो । भारतबाट आएका धार्मिक गुरुबाट कोरोना फैलिएको थियो । वीरगञ्जको संक्रमण स्रोतपनि भारत नै हो । त्यहाँ भारतिय नागरिक नै संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस्