Monday, January 18

नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिए (तस्विर सहित)

May 2, 2020 261

उत्तर कोरियाका नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ।

अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा निधन भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ । नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ ।

तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ । तर केसिएनएको दाबी तथा उसले सार्वजनिक गरेको तस्बिरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर शनिबार सार्वजनिक गरेको छ। तल हेर्नुहोस तस्विर

प्रतिकृया दिनुहोस्