वासिङ्टन, (एजेन्सी)
इबोला समाप्त पार्न तयार गरिएको औषधि रेमडेसिविर कोरोना भाइरसका बिरामीमा चामत्कारिकरूपमा सकारात्मक प्रभाव पारिरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार डा. एन्थनी फाउसीले भने– ‘रेमडेसिविर औषधिले बिरामी ठीक हुने समय स्पष्ट, प्रभावी र सकारात्मक प्रभाव देखाएको आँकडाले बताएको छ ।’
रेमडेसिविर औषधी अमेरिका, युरोप र एसियाका ६८ स्थानमा १ हजार ६३ बिरामीमा परीक्षण गरिएको उनले जानकारी दिए । यस परीक्षणमा रेमडेसिविर औषधीले यो भाइरसलाई रोक्नसक्छ भन्ने देखाएको उनले बताए ।
यसअघि रेमडेसिविर औषधि इबोलाको परीक्षणमा असफल भएको थियो । यद्यपि डब्ल्यूएचओले पनि आफ्नो सीमित अध्ययनपछि उहानमा यो औषधिले बिरामीमा सीमित असर परेको बताएको थियो । उहानबाटै कोरोना भाइरसको पहिलो संक्रमण आएको थियो । यसबीच रेमडेसिविर औषधिमा भएको यो ताजा शोधमा डब्ल्यूएचओका वरिष्ठ अधिकारी माइकल रेयानले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
डाक्टर फाउसीको उक्त घोषणाले पूरै विश्वमा खुसीको लहर फैलिएको छ । उनले यो घोषणा गरिरहँदा कोरोना कहरले विश्वमा २ लाख २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ र ३२ लाखभन्दा बढी यस भाइरसबाट संक्रमित भइसकेका छन् । विगत २४ घन्टामा अमेरिकामा मात्रै २ हजार ५ सय २ जनाको मृत्यु भएको छ । कोरोनाको गढ बनेको यस संक्रामक रोगबाट अमेरिकामा मर्नेको संख्या ६० हजार नाघिसकेको छ ।
रेमडेसिविर औषधि इबोला संक्रमणको उपचारमा औषधिका रूपमा विकसित गरिएको थियो तर यसबाट अरू पनि कैयौं प्रकारका भाइरस मर्न सक्छ भन्ने थियो । अमेरिकाको वासिङ्टन राज्यमा कोरोनासँगको युद्ध जित्ने एक महिलाले आफ्नो निजी अनुभव साझा गर्दै रेमडेसिविर औषधिको मद्दतले उनका पति कोरोना संक्रमणबाट ठीक भएकोे बताएकी थिइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्दै भनेका थिए– ‘रेमडेसिविर एक त्यस्तो औषधि हो जसबाट कोरोना समाप्त पार्न सक्ने सम्भावना देखिएको छ ।’ यसअघि अमेरिकाको सिकागो शहरमा कोरोना भाइरसबाट गम्भीररूपमा बिरामी परेका १ सय २५ जनालाई रेमडेसिविर औषधि दिइएको थियो जसमा १ सय २३ जना ठीक भएका थिए ।
चीनले कोरोना भाइरसविरुद्ध सबैभन्दा उपयोगी मानिएको औषधिमा त्यति बेलै पेटेन्ट गराउने प्रयास गरेको थियो, जब सबैभन्दा पहिला मानवबीचमा यो भाइरस फैलिएको पुष्टि भएको थियो । चीनका राष्ट्रपति सी जिन पिङले जनवरी २० मा यो भाइरस मानवबाट मानवमा फैलिन सक्ने पुष्टि गरेका थिए ।
प्रतिकृया दिनुहोस्