Wednesday, January 27

तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको निधन , छ जना घाइते

April 27, 2020 250

दमौली । तनहुँको घिरिङ गाउँपालिका–५ बेलभञ्ज्याङमा आज साँझ जीप दुर्घटना हुँदा एक जनाको निधन भएको छ । जीप दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । नवलपुरको डेढगाउँबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ७५०२ नं को जीप अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खस्दा नवलपुर बैदिकालि गाउँपालिका–२ बस्ने २३ वर्षीया सन्जु पोख्रेलको निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पोख्रेलको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा नवलपुर बैदिकालि गाउँपालिका–२ बस्ने ५४ वर्षीया दिलमाया खत्री, सोही ठाउँ बस्ने २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिनाका अनिल खत्री, जीपका चालक ३१ वर्षीय चामबहादुर दमै र सहचालक २१ वर्षीय सन्तोष परियार रहेका छन् ।

छ महिनाका बालक अनिलको आँखाको उपचारका लागि पोखरा जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दिलमायाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको भीमादस्थित शुभलक्ष्मी मेडिकल हलमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्