Wednesday, January 27

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट यसरी एक तह तल झर्यो [भिडियोसहित]

April 26, 2020 328

काठमाडौँ । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए। उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तरराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने ,’त्यसैले नेपाल कोभिड -१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड -१९ को परीक्षणको दायरासमेत बढाइएकाले अतिउच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड-१९ नियन्त्रण र रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजत्वमा कोभिड- १९ र रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड- १९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ ।

दुवैले आआफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी सरकारले मुलुकभरि कोभिड अस्पतालका रुपमा २५ वटालाई हब हस्पिटल बनाएको छ । ती अस्पतालमा कोभिड- १९ का बिरामीको मात्र उपचारको व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट एक जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड-१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो । अहिले १५ स्थानमा पिसिआर र ७५ जिल्लामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ ।

अहिलेसम्म नेपालमा पिसिआरबाट नौ हजार ४०९ र आरडिटीबाट ३८ हजार ८९ गरी कुल ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् । यसैगरी कोभिड -१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेशनमा छन् ।

नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वपरीक्षण गराइसकेका छन् । विश्वमा अहिले १८ लाख २८ हजार २५६ जना कोभिड -१९ बाट संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ९७ हजार ३५४ बिरामीले कोभिड (१९ को कारणले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्