Thursday, January 28

दु:ख भएपछि शहर भन्दा आफ्नै गाउँ ठिक भन्दै लालाबाला च्याँपेर घर फर्किए सर्वसाधारण !

April 23, 2020 323

नारायण न्यौपाने – ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्ति कुम्लो कुटुरोसहित लालाबाला च्याँपेर घर फर्कन घुइँचो गरेको त्यो स्थानमा देखियो । मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउन कारण राजिरोटीको समस्याले बिचल्लीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो ।

भक्तपुरको जडीबुटीमा मानिसको ठूलो हुलमा भेटिएका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले लकडाउनका कारण विपद्मा परेका नागरिकलाई उद्धार गरी घर पु¥याउने काममा आफू जुटिरहेको बताउनुयभो । उहाँले भन्नुभयो, “आज मात्र होइन हिजोदेखि नै हो यहाँ हाम्रा धेरै नागरिक लकडाउनका कारणले विपद्मा परिरहनुभएको थियो । धेरैजसो श्रमिक हुनुहुन्छ । घर जान चाहनेहरुको यो भीड हो । नगरपालिकाबाट उहाँहरुलाई लिन भनेर म यहाँ आएको हुँ ।”

उक्त नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको थियो । विपद्मा परेका त्यस्ता नागरिकलाई नगरपालिकाले आफ्नै खर्चमा घर पु¥याउने व्यवस्था गरेको नगरप्रमुख थापामगरले जानकारी दिनुभयो ।

लकडाउनका कारण रोजिरोटी गुमेर काठमाडौँ उपत्यकामा बस्ने अवस्था नरहेपछि घर फर्कन चाहनेलाई स्थानीय तहले जन्मथलो लैजाने व्यवस्था गरेका हुन् । स्थानीय तहले त्यस्ता घर फर्केका नागरिकलाई उपलब्ध गराउनुपर्ने राहत र औषधिका लागि तथ्याङ्कसमेत सङ्कलन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहले त्यसरी घर फर्केका नागरिकलाई आफ्नो बाँझो जमिन खनिखोस्री बालीनाली लगाउन र त्यसकालाई आवश्यक बीउ मलखादको व्यवस्था गरी उत्प्रेरणा जगाउन कामसमेत गर्ने भएका छन् । जडीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोकलगायत जिल्लाका यात्रुको भीडलाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मेहम्मे परेको देखिन्थ्यो ।

जडीबुटी र कलङ्की क्षेत्रमा काठमाडौँ जिल्लाका प्रहरी प्रमुखसहित ठूलो सङ्ख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिनुभएको थियो । भीडलाई व्यवस्थापन गर्न र यात्रुलाई गाडी चढ्नका लागि अन्योल पैदा नहोस् भनेर प्रहरीले माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइरहनुभएको थियो । ती दुवै स्थानमा दशैँको फूलपातीको दिन जस्तै घर फर्कनेको भीड देखिन्थ्यो ।

विपद्मा परेका यस्ता नागरिकलाई घर फर्काउने कार्यमा स्थानीय तहका मात्रै होइन कलङ्कीमा सांसद टोपबहादुर रायमाझीले समेत सहजीकरण गरिरहनुभएको पाइयो । उद्धार गरी लगेका नागरिकको स्थानीय तहमा कोभिड–१९का सम्बन्धमा सामान्य स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ । सिन्धुलीको तीनपाट गाउँपालिकाका उपप्रमुख पदममाया तामाङ पनि लकडाउनमा अलपत्र परेका नागरिकको उद्धारका लागि बुधबार राति अबेरसम्म जडीबुटीमा खटिरहनुभएको थियो ।

उहाँले दुई दिनमा झण्डै ८०० को हाराहारीमा घर फर्कन चाहने सर्वसाधारणको व्यवस्थापन गरी पठाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो बालबालिका र आमाहरुको उद्धार गरिएको छ ।” उद्धार गरिएका सबैको तथ्याङ्क लिएर सङ्कलन गरिएको राहत वितरण गर्ने स्थानीय तहले व्यवस्था मिलाएको छ ।

रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ । घर फर्कनेमा न्यून आएका श्रमिक र विदेशमा कार्यरत श्रमिकका परिवारजन भएको बुझिएको छ । लकडाउनका समयमा यथास्थानमा बस्ने र घराबाट बाहिर ननिस्कन भने पनि रोजिरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढी समयको पैदलयात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो ।

लकडाउनले हजारौँ व्यक्तिलाई जन्मथलो पु¥याएको छ । ठूलो सङ्ख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न सङ्कटको सम्भावना भए पनि खेतीपाती लगाउने ठीक समय भएकाले कतिपय बाँझो जमिन खनीखोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ । कोभिडबाट सिर्जित लकडाउनले घर परिवार सँगै रहेर जन्मथलोमा पुगी स्थानीय उत्पादन बढाउन र विकास निर्माण कार्यमा सहकार्य गर्ने एकखाले वातावरण सिर्जना गरेको छ ।

गाउँमा खेतीपातीसगँै दशैँ तिहार झैँ चहलपहल

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीका समयमा शहरबजार सबै बन्द तथा सुनसान भए पनि गाउँघरमा खेतीपातीको चहलपहल बढेको छ । कोरोनाको सङ्क्रमणबाट जोगिएर सम्पूर्ण सावधानी अपनाएर किसान खेतीपातीको काममा व्यस्त हुन थालेका हुन् । कोरोना भाइरसको बेवास्ता गर्दै किसान हिउँदेबाली भित्र्याउनमा लागि परेका छन् । भारतका विभिन्न शहरबाट काम गरी घर फर्किएका ३३० स्थानीयवासी यहाँका नौ वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा २१ दिन बसेर आफ्नो स्वास्थ्य जाँच गराइ कोरोनासम्बन्धी लक्षण नभेटिएका कारण गाउँमा कोरोनाको त्रास पनि क्रमिकरूपमा हराउँदै जान थालेको छ ।

गाउँघरमा पछिल्लो समय कोरोनाको बेवास्ता गर्दै किसान दैनिकरूपमा आफ्नो खेतीपातीको काममा व्यस्त हुन थालेको बडीकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आएकाबाट कोरोना सल्किन्छ कि भन्ने डर थियो, सबैलाई २१ दिन क्वारेन्टाइन राखेर जाँच गर्दा कसैमा पनि कोरोना लक्षण देखिएन, सचेत हुँदै हामी आफ्नो काममा लाग्ने गरेका छौँ ।” पाकिसकेको हिउँदेबाली असिना पर्ने डरका कारण पनि किसान पछिल्लो समय गहुँ भित्र्याउनमै व्यस्त हुने गरेको जताततै देख्न सकिन्छ । भारतबाट काम गरेर आएका तथा स्थानीय सरकारका क्वारेन्टाइनमा २१ दिन बसेका स्थानीयसमेत गाउँ फर्किएर आफ्नै खेतीपातीमा व्यस्त भएका छन् । त्यस्तै विगत दुई वर्षदेखि भारतको पञ्जाव शहरमा काम गर्दै आउनुभएका जोरायल गाउँपालिका–५ का केशरसिंह पातली कोरोनाको त्रासका कारण अहिले सपरिवार गाउँ फर्किएर वर्षौँदेखि बाँझिएको आफ्नो खेतबारीमा धमाधम काम गर्न थाल्नुभएको छ ।

“कति अर्काको काम गर्नु अब आफ्नै कामगर्ने हो”, पातलीले भन्नुभयो, “कोरोनाको त्रासले गाउँको विकाससँगै बाँझो परेका जमिन पनि हराभरा हुने भए, बल्ल शुरु हुने भयो कृषि त्रान्ति ।” वर्षौँदेखि गाउँघरको खेती किसानी गर्ने जमिन बाँझो राख्दै आएका यहाँका किसान अहिले गाउँ फर्किएर खेतीपाती गर्न थालेका छन् । स्थानीय गाउँमा रहेका बाँझो जमिनमा खेती गर्न थालेपछि शहरभन्दा गाउँमा रमाइलो र चहलपहल एकाएक बढेको छ । कुनै बेला सुनसान हुने यहाँका गाउँघरमा अहिले स्थानीयको बाक्लो उपस्थिति हुने गरेको जोरायल गाउँपालिका– ५ का अर्का स्थानीय तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गाउँ छोडेर शहर जाने चलन बढी थियो, सामान्य उपभोक्ता समितिको छलफल राखौँभन्दा पनि कोरम पुग्दैनथ्यो, कोरोनाले सबै गाउँघर फर्किएर शहर सुनसान भए गाउँमा अहिले चहलपहल छ ।” कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेका यहाँका स्थानीय गाउँ फर्किन थालेपछि गाउँघरमा अहिले दशैँ तिहारको जस्तै भान हुनेगरी रमाइलो हुन थालेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीय तथा शिक्षक रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दशैँ तिहारकै झल्को दिने गरी गाउँघरमा निकै चहलपहल बढेको छ, शहरमा महल बनाएकाहरु पनि कोरोना त्रासले गाउँ फर्किएका छन् । विभिन्न पेशा व्यवसाय तथा अध्ययनका लागि शहर बसेका गाउँका स्थानीयवासी घर फर्किएपछि गाउँको रूप नै फेरिन थालिएको स्थानीयवासी बताउँछन् ।

अरू बेलाजस्तो गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था नहुँदा गाउँघर आएका खेतीपातीको काममा व्यस्त हुन थालेको केआइसिंह गाउँपालिका सलेनाका स्थानीय जगतबहादुर बलायर बताउनुभयो । अहिले यहाँका गाउँघरमा रहेका किसानलाइ हिउँदेखेती थन्क्याउनुका साथै कतै मकै लगाउने यामसमेत शुरु भएको छ । किसानलाई गाउँघरमा काटेको गहुँ, जौँलगायतका बाली भित्र्याउन तथा मकै लगाउन मल बोक्ने काम भ्याइनभ्याइ हुन थालेको छ । किसान कोरोनाको बेवास्ता गर्दै आफ्नै खेतबारीको काममा आफूलाई व्यस्त राख्न थालेका छन् । कोरोना भाइरसको महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको सङ्ख्या पनि निकै बढेको पाइएको छ । कुनै समय वृद्धाश्रमजस्तो देखिने गरेका यहाँका गाउँघरमा अहिले युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको स्थानीयवासी बताउँछन् ।

लकडाउनका कारण शहरबजारमा मानिस घरभित्रै बसेका भए पनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कार्य भइरहेको सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो । गाउँघरका खेतीपातीको काममा शहर र भारतबाट आएका युवायुवती खटिन थालेपछि अहिले गाउँमा भएका वृद्धवृद्धा, महिला र केटाकेटीले काममा राहत महसुस गरिरहेका छन् । वर्षौँदेखि बाँझो रहेका खेतबारीमा खान जोत तथा बाली लगाउने काम शुरु भएपछि उत्पादनसमेत वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषक बताउँछन् । यतिमात्र नभइ शहर बसेकाहरु गाउँ आएपछि अहिले यहाँका गाउँघरमा जाने बिग्रिएका पुराना बाटाघाटासमेत निर्माण हुन थालेका छन् ।

२०० परिवारलाई राहत वितरण

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले वडा नं ४ राजपुरमा बसोबास गर्ने २०० परिवार मजदुर तथा विपन्नलाई राहत वितरण गरेको छ । लकडाउनका कारण खाद्यान्न अभावमा दैनिक छाक टार्न समस्यामा परेका परिवारलाई एकैसाथ राहत वितरण गरेको वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक ज्यालादारी खाने वर्गलाई खाद्यान्न अभाव भएको खबर पाएपछि हामीले राहत वितरण गरेका छौँ, हामीले राहत दिएपछि उनीहरुलाई हातमुख जोर्नमा सहज हुनेछ ।” राहत पाएपछि आफ्ना छोराछोरीले पेटभरि खाना खान पाउने भन्दै यहाँका स्थानीयवासी निकै खुशी भएका छन् ।

दिपायल सिलगढी नगरका प्रमुख मलासीले नगरपालिकाका सबै वडामा वितरण सञ्चालन गरिने बताउनुभयो । राहत मिलेपछि केही दिनका लागि भए पनि समस्या समाधान भएकोस्थानीय रामबहादुर कामीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्