Wednesday, January 20

उदयपुरमा अर्को पनि कोरोना संक्रमित फेला परे, संक्रमितलाई विराटनगर ल्याउने तयारी गरिदैं

April 22, 2020 233

विराटनगर, १० बैशाख । उदयपुरमा कोरोना संक्रमित थपिने क्रम दिनानुदिन बढेको छ । आज पनि थप एक संक्रमित फेला परेका छन् । उनी ५५ बर्षीया महिला भएको र उनको श्रीमान पनि संक्रमित भएको थाहा हुन आएको छ ।पहिलो पटक भेटिएका १३ जना संक्रमित पछि गरिएको कन्टयाक्ट टे«सिङसंगै थप एक जनामा कोरोना भाइरस पोजिटिभ पाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय श्रोतले बताएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमार्फत ती महिलामा कोरोना भाइरस पोजिटिभ पाइएको हो ।हिजो थप ११ जनामा पुष्टि भएपछि उदयपुरमा कोरोना भाइरस पोजिटिभ हुनेको संख्या २४ पुगेको थियो । तर आज थप एक जनामा पुष्टि भएपछि उदयपुरमा मात्र कोरोना भाइरस पोजिटिभ हुनेको संख्या २५ पुगेको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । उदयपुर जिल्लामा कोरोना भाईरस अर्थात कोभिड नाइन्टिनको संक्रमितहरुको संख्या बढेपछि प्रदेश नं. १ सरकारले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय शैयाको कोभिड अस्पताल स्थापना गर्ने तयारी शुरु गरेको जानकारी दिएको छ ।कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि उपचारका लागि शैया अभाव हुने स्थिति आउन नदिन ३ दिन भित्र धरानमा कोभिड अस्पताल बनाउन लागिएको हो ।

अहिले प्रदेश नं. १ को कोरोना संक्रमितहरुको उपचार विराटनगर स्थित कोरोना विशेष उपचार केन्द्रमा भईरहेको छ । ५ वटा भेन्टिलेटर सहितको ५० शैयाको सो विशेष उपचार केन्द्रमा उदयपुरका २३ जना संक्रमितहरुले उपचार गराईरहेका छन् ।

२४ जना संक्रमितहरुमा एक जना अझै विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा आइपुगेका छैनन् । छुटेका एक जनालाई लिन विहानै उदयपुर गएकाहरुपनि अझै सम्म आइनपुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार थप १ जना गरी दुइजनालाई विराटनगर ल्याउने तयारी गरिदैछ ।

मुलुक मै कोभिड नाइन्टिनको इपिसेन्टरका रुपमा उदयपुरको भुल्के क्षेत्र देखिएको छ । भुल्के क्षेत्रमा संक्रमितहरुको संख्या ह्वात्तै बढ्ने स्थितिमा उदयपुरमा नै कोरोना अस्पताल बनाउने तयारी समेत भईरहेको प्रदेश नं.१ का सामाजिक विकास मंत्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

भुल्केमा गरिएको कोरोना परीक्षणमा शुरुमा १३ जना पोजिटिभ र ३ जना नेगेटिभ पाइएको थियो । ६९ जनाको परीक्षणमा ८ जना पोजेटिभ र ६१ जना नेगेटिभ पाइएकोमा २ सय ५१ मध्ये २ सय २५ जनाको परीक्षणमा ३ जना पोजिटिभ र २ सय २२ जनामा नेगेटिभ पाइएको थियो । २४ जना पोजेटिभ पाइएको भुल्के क्षेत्रमा ५२ परिवार बसोबास गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्