Friday, January 15

सुदूरपश्चिममा कोरोनाको जाेखिम बढेपछि राजधानीबाट ३३ जना डाक्टरको टोली धनगढी पुग्यो

April 17, 2020 339

कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३३ जना चिकित्सकलाई यहाँ पठाएको छ । विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चिकित्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रालयले सुदूरपश्चिम पठाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँले प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय तथा सिफारिसका आधारमा यहाँ आउन लागेका चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाउने जानकारी दिनुभयो ।

कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि धनगढी विमानस्थलमा शुक्रबार पुगेको चिकित्सक टोली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको सो टोलीमा ३३ चिकित्सक छन् । तस्बिर ः मीन ठकुरी

“निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएको छ ।” उहाँ भन्नुभयो, “त्यसका लागि हामी आवश्यक गृहकार्य गरिरहेका छौँ ।” सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ ।

“डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ ।” जोशीले भन्नुभयो, “अन्त पठाउने कुरो भएको छ ।” सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो । यसअघि पनि ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो ।

बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । यहाँ हालसम्म पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्