Monday, January 18

टुलुटुलु हेरेरबस्न मिल्दैन भन्दै सर्वोच्चले सरकारलाई भन्यो – वैदेशिक रोजगारीमा जोखिममा परेका नागरिकलाई फिर्ता ल्याउन पहल थाल्नू

April 16, 2020 481

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा खान बस्न समस्या भएका र रोजगारी गुमाएका आफ्ना नागरिकलाई उद्धार गरी ल्याउन आदेश दिएको हो।

अधिवक्ता सोमप्रसाद लुईंटेलसहित तीन अधिवक्ताले बुधबार दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले नागरिकको गुहारलाई राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने उल्लेख गरेको छ। अधिवक्ता सोमप्रसाद लुइँटेलले दिएको रिटमा सुनुवाइ गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिना भेदभाव, बिना स्वेच्छाचारी तरिकाले सर्त बन्देजसहित फिर्ता ल्याउने पहल गर्न आदेश दिएको हो।

‘वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमताबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै,’ सर्वोच्चको आदेशमा भनिएको छ,’सूक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले बिना भेदभाव, बिना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको सर्त बन्देजसहित फिर्ता/ उद्धारको लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ।’

न्यायाधीश प्रधानको इजलासले महामारी फैलिएका मुलुकमा रोजगारको सिलसिलामा रहेका र कोरोना संक्रमण भएका नेपालीको स्वास्थ्य स्थिति प्रतिवेदन तयार गर्न र विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपचार पाएको नपाएको बुझ्न पनि भनेको छ।

सर्वोच्चले कूटनीतिक माध्यमबाट नागरिकको अवस्था तत्काल बुझ्न र सोको प्रतिवेदन तयार गर्न समेत भनेको छ। हाल भारतसहित विभिन्न देशमा ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको बताइन्छ।

प्रतिकृया दिनुहोस्