Saturday, January 16

मसँग सबै राज्यको लकडाउन खोल्ने पूर्ण अधिकार छः ट्रम्प

April 14, 2020 1511

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन देशभरबाट फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गरेका हुन् । उनको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन् ।

ट्रम्पले ब्रिफिङ्गमा भने, ‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ ।’ पत्रकारसँग आक्रामक रुपमा प्रस्तुत भएका उनले राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार रहेको दाबी गरेका हुन् ।

अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरेको घरमै बस्नु पर्ने कडा नियम हटाउने तयारी गरेका छन् ।

अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा रहन्छ । यसको अर्थ राज्यका गभर्नरहरुमा अहिले लागु भएको लकडाउन वा सामाजिक दूरी सम्बन्धी नियमहरु कुन बेला फिर्ता लिने वा खुकुलो बनाउने भन्ने अधिकार हुने संवैधानिक कानूनका विज्ञले बताएका छन् ।

प्रतिकृया दिनुहोस्