Saturday, February 27

एउटा अ’पहर’णका’रीको ‘अपराध यात्रा’, नेपाल प्रहरीको पञ्जाबाट उम्किएर दार्जिलिङमा कपडाको व्यापार !

February 16, 2021 78

काठमाडौं । सार्लाहीको साविक ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ (हाल करिवन–९)का दूर्गा बहादुर बुढाथोकी २०६४ वैशाखमा काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाटै मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।अनुसन्धानका लागि उनी महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा थिए । तर, उनी २५ वैशाख २०६४ मा प्रहरीको हिरासत तोडेर भाग्न सफल भए ।

अपराधको दुनियामा ‘सोले’ र ‘कुमार’ नामबाट समेत पहिचान बनाएका उनै बुढाथोकीलाई हिरासत तोडेर भागेको झन्डै १३ वर्षपछि पुनः पक्राउ गरेको छ । तर, यसबीचमा उनको अपराधको यात्रा भने मोटरसाइकल ‘चोर’बाट व्यक्ति अपहरण तथा शरीर बन्धकसम्म पुगेको छ ।२०६४ वैशाख २५ गते बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका बुढाथोकी त्यसपछि अमर टण्डन र उदय सेठ्ठीको समूहमा रही अपहरण तथा गुण्डागर्दीमा सक्रिय रहे ।

मोटरसाइकल चोरीको कसुरमा पक्राउ परेपछि हिरासतको ग्रील तोडेर भाग्न सफल भएका बुढाचोकी जुन समूहमा संलग्न थिए, जसले नेपालमा अपहरण र संगित रुपमा फिरौती असुलीको धन्दा स्थापित गरेको थियो ।भारतीय नागरिक उदय सेठ्ठीले केही समय मुम्बइमा रहेर त्यहाँका कारागारमा रहेका कैदी (अपराधी)हरुलाई खाना पुर्याउने काम गरे । त्यतिबेला सेठ्ठी जेलमा रहेका अपराधीहरुलाई खानासँगै भूमिगत अपराधिक समूहको सन्देश समेत आदानप्रदान गर्थे । कैदीसँग सन्देश आदानप्रदान गर्दा गर्दै उनको भूमिगत अपराधिक गिरोहका सदस्यसँग सम्बन्ध बाक्लियो ।

अण्डरवर्ल्ड डन छोटा राजन समूहसँग निकट सम्बन्ध रहेको थाहा पाएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गर्न तयारी गरेको थियो, उनी लुक्दै छिप्दै भागेर नेपाल आइपुगे ।२०५९ सालतिर नेपाल आइपुगेका सेठ्ठीले अमर टण्डनसँग मिलेर संयुक्त रुपमा अपहरण तथा शरीर बन्धक गरी फिरौती असुल्ने धन्दा शुरु गरे ।अपहरण तथा शरीर बन्धक गरी फिरौती असुलीको एक घटनामा प्रहरीको खोजी सूचीमा रहेका टण्डन पक्राउ परेपछि सेठ्ठीले प्रह्लाद महत समेतको सहयोगमा आफ्नो धन्दा अगाडि बढाए ।

टण्डन पक्राउ परेलगत्तै सेठ्ठीको समूहले काठमाडौंको सामाखुसीका व्यवसायी निरज कक्षपतीको अपहरण गरी १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेको थियो ।कक्षपतीलाई अपहरण गरी कञ्चटमा पेस्तोल राखेर धम्क्याउने क्रममा सेठ्ठीकै समूहका सदस्य सुदीप मैनालीलाई गोली लागेको थियो । त्यसपछि सेठ्ठी समूहले आफ्नै सहयोगी मैनालीलाई पुनः २ राउण्ड गोली हानेर हत्या गरेको थियो ।

शवको पहिचान गर्न नसकियोस् भनेर सेठ्ठी समूहका सदस्यले मैनालीको अनुहारमा ढुङ्गाले किचेर शरीरलाई क्षतविक्षत पारी बोरामा पोको पारेर गौरीघाटमा फालेको थियो ।

पछि मैनालीको परिवारले सेठ्ठी र टण्डनसहितलाई प्रतिवादी बनाएर कर्तव्य जानको कसुरमा महानगरीय प्रहरी बृत्त बौद्धमा किटानी जाहेरी दिएको थियो ।अपहरण तथा शरीर बन्धक बनाएर फिरौती असुल्ने समूहविरुद्ध पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विशेष अनुसन्धान थालेको थियो । सीआईबीको अनुसन्धानबाट सेठ्ठी र टण्डनको समूहले १९ वटा अपहरणका घटना गराएको देखिएको थियो ।

यो समूहले शिव सरावगी, सुमित शेरचन, ज. आशुतोष, पवन अग्रवाल, अमित्य गुरुङ, उमेश गर्ग, दिलीप अग्रवाल, ईश्वरदत्त पाण्डे, टीकाराम अर्याल, महेश मुरारका, निरज कक्षपती र बाबुराजा रावलको अपहरण गरेको घटना प्रमुख हुन् ।

यो समूहले पूर्वतयारीका साथ संगठीत रुपमा हतियारसहित व्यवसायीहरुको अपहरण गर्ने गर्दथ्यो । काठमाडौंका व्यवसायीको अपहरण गरी फिरौती उठाउँदासम्म राख्नका लागि यो समूहले काठमाडौंको बौद्ध तथा मण्डीखाटार र उपत्यका बाहिर रुपन्देहीको छपीयामा घरहरु भाडामा लिएर राखेको विषय पनि प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

सेठ्ठी र टण्डनको समूहले गरेका अपहरणमध्ये सर्लाहीका बुढाथोकीको काठमाडौंको बालाजुका व्यवसायी बाबुराजा रावलको अपहरणमा मुख्य भूमिका थियो बुढाथोकीसहित प्रह्लाद महत, विष्णु जिसी, बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङले योजना बनाइ २०६५ पुस २ गते बालाजुका व्यवसायी रावलको अपहरण गरेको थियो ।

भ्याली कोल्ड स्टोरका सञ्चालक रहेका रावलको अपहरण गरेर काठमाडौंको टोखा पुर्याएका उनीहरुले पछि १ करोड ५० लाख रुपैयाँ धरौटी असुल गरेर छाडेका थिए ।रावल अपहरण प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले घटना भएको १ वर्षपछि सेठ्ठी, महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की र मानदेव गुरुङलाई पक्राउ गरेको थियो ।

बुढाथोकी भने फरार थिए । रावल अपहरण प्रकरणबाट बच्न सफल भएका उनी पछिल्लो समय भने भारतीय राज्य पश्चिम बंगालको पहाडी क्षेत्र (नेपाली समुदायको बाहुल्यता रहेको) दार्जिलिङमा बस्दै आएका थिए ।दार्जिलिङमा उनी प्रकाश क्षेत्रीको नामबाट बस्दै आएका थिए । त्यहाँ उनले ‘प्रकाश स्टोर्स’को नामबाट कपडाको होलसेल पसल समेत चलाउँदै आएका थिए ।दार्जिलिङमा बस्दा पनि उनी अपहरणका गतिविधिलाई जारी नै राखेका थिए । उनी नेपालमा अपहरण गराइ असुलेको फिरौती लिनका लागि हुण्डीको प्रयोग गर्थे । दैनिक अनलाइन बाट

प्रतिकृया दिनुहोस्