Sunday, January 17

साउदी राजपरिवारका १५० जना सदस्य नै कोरोना संक्रमित भएको पुष्टि

April 12, 2020 286

काठमाडौ । अहिले विश्वभर फैलीएको कोरोना भाइरसले १७ लाख ८० हजार भन्दा धेरै संक्रमित भएका छन् । अहिलेसम्मको ताजा जानकारी अनुसार १ लाख ८ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ । यसको असर साउदी राजपरिवारमा पनि प्रवेश गरेको छ । यहाँ मात्र १५० सदस्य संक्रमित भएको बताइएको छ । परिवारै कोरोनाबाट संक्रमित भएलगत्तै सम्भावित खतराबाट जोगिन राजा सलमान भने समुद्री टापुतिर लागेका छन् ।

साउदी अरेबियाले कोरोना संक्रमणको पहिलो केस दर्ता गरेको ६ हप्तापछि शाही परिवारमा त्यति धेरै व्यक्तिमा संक्रमण भएको हो । राजपरिवारमा यति धेरै संक्रमित भेटिएपछि अहिले त्यहाँ निकै ठूलो त्रास फैलिएको बताइएको छ । अहिले साउदी दरबारमा करिब १५० जनामा कोरोना संक्रमित भएको र त्यहाँ आतंक मच्चिएको राजपरिवारका एक व्यक्तिले दिएको सूचनालाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

संक्रमित हुनेहरुमा धेरै शाही परिवार र वरिपरिका सदस्य भएको बताइएको छ । उनीहरु हालै युरोपबाट फिर्ता भएका हुन् । परिवारमा कोरोनाको सन्त्रास फैलिएपछि राजा सलमान आफ्नो सुरक्षाका लागि लालसागरस्थित जेद्दाह शहरको टापुमा रहेको दरबारमा सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् । राजकुमार मुहम्मद बिन सलमान केही मन्त्रीहरुसहित उही तटको दुर्गम क्षेत्रमा गएका छन् ।

कोरोना महामारीको सन्त्रासपछि साउदी अरेबियाले मक्का मदिना लगयात मुस्लिमहरुका पवित्र स्थलहरुमा समेत आवतजावतमा प्रतिबन्ध लगाइसकेको छ । देशभित्र र बाहिर सबै प्रकारका हवाई र स्थल यातायात बन्द गरिसकेको छ भने ठूला शहरहरुमा २४ घण्टे लकडाउन घोषणा गरिएको छ । साउदीमा अहिलेसम्म ४ हजार ३३ जना संक्रमित हुँदा ५० भन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म ७०० भन्दा धेरै साउदीमा निको भएका छन् ।

प्रतिकृया दिनुहोस्