Monday, January 18

भारतमा कोरोनाले ठुलो रुप लिन थाल्यो, नेपालका सिमानामा हजारौं सुरक्षाकर्मी परिचालन

April 11, 2020 332

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि सीमा पारि रोकिएका नेपाली तथा नेपालमा नाता सम्बन्ध भएका भारतीय लुकीछिपी नेपाल प्रवेश गर्न थालेपछि नेपाली सुरक्षाकर्मीले सीमामा पैदल गस्ती बढाएका छन् । भारतसंँग सीमा जोडिएको ६० किमीसम्मको सीमा क्षेत्रमा यतिबेला रुपन्देहीका सुरक्षाकर्मीले गस्ती बढाएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले बताउनुभयो ।

प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, ‘यतिबेला हामीले साठी किलोमिटरको सीमा क्षेत्रमा हिँडेरै गस्ती सम्पन्न गरेका छौंँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पैदल गस्ती गरेको हो । ’ कपिलवस्तुदेखि नवलपरासीको सीमासम्म ६० किलोमिटरको क्षेत्र रुपन्देही जिल्लामा पर्छ । उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुख तथा अधिकृतसमेत पैदल गस्तीमा सहभागी भएका थिए ।

कोरोना भाइरसको संक्रमण सीमावर्ती भारतीय क्षेत्रमा बढेसंँगै भारतीय पनि नेपालमा विभिन्न नाता खोज्दै नेपाल प्रवेश गर्ने खतरा बढेको छ । अर्कातिर तरकारीजन्य पदार्थ बिक्रीवितरणका लागि पनि उनीहरु आउने गरेका छन् ।

यसैबीच दुई दिन अगाडि मात्रै भारतको कोल्हुइका चार जनालाई रुपन्देहीको तिलोत्तमामा पक्राउ गरी क्वारेन्टाइन पठाइएको छ । उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए । भारतमा कोरोना फैलिँदै गएपछि भारतीय सुरक्षाकर्मीको आँखा छल्दै नेपाल प्रवेश गर्न थालेका छन् ।

यतिबेला नेपालतर्फ सशस्त्र प्रहरीले सीमाका विभिन्न नाकामा थप सुरक्षा तैनाथीसमेत गरेको छ । सशस्त्र प्रहरीबलका प्रहरी उपरीक्षक पोखरेलका अनुसार यतिबेला सीमामा सशस्त्रका ८ सय फौज खटिएको छ । विगतमा पाँच बिओपी राखिएकामा यतिबेला कोरोना संक्रमणलाई लक्ष्य गरी अस्थायी रुपमा १० चौकी थपिएको छ ।

प्रउ पोखरेलले भन्नुभयो, ‘५२ नाकामा ड्युटी खटिएको छ । पाँच वटा मोबाइल गस्तीले त्यसको कभर गरेको छ । सीमाबाट कोही पनि मान्छे कुनै पनि बहानामा नेपाल प्रवेश गर्न दिइएको छैन । ’ सधैंँ सवारी साधनमा गस्ती गर्ने सुरक्षा क्षेत्रका अधिकारीले यतिबेला पैदल नै सीमामा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

उहांँले भन्नुभयो, ‘सशस्त्रका एसपी, नेपाल प्रहरीका एसपी र म आफैँ स्वयं पनि यो गस्तीमा सहभागी थियौँ । यसले एकातिर सबै सीमाको स्थलगत अवस्था बुझ्ने मौका दिएको छ भने अर्कातिर नाकानाकामा खटिएका सुरक्षाकर्र्मी साथीहरुको मनोबल बढाउन पनि मद्दत गरेको छ । ’

कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ देखि मुलुकभर लकडाउन गरेको छ । लकडाउनको नागरिकले पालना पनि गरिरहेका छन् । सुरक्षाकर्मीसँगको पैदल गस्तीको अन्तिम दिन प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय पनि सहभागी हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्