Thursday, January 21

अब यी देशमा पनि टिकटक नचल्ने

July 8, 2020 161

काठमाण्डौ / चर्चित भिडिओ एप टिकटकले आफू चाँडै नै हङकङबाट हट्ने बताएको छ । चीनको नयाँ सुरक्षा कानुनको कारण आफू त्यहाँबाट हट्न लागेको टिकटकले बताएको हो ।कम्पनीका एक प्रवक्ताले बीबीसीसँग भने, ‘पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै हामीले हङकङमा टिकटकको काम बन्द गर्ने फैसला गरेका हौँ ।’ समाचार एजेन्सी रोयटर्सका अनुसार टिकटक कम्पनी केही दिनमै हङकङबाट बाहिरिँदै छ ।

चीनमा रहेको बाइटडान्स नामको कम्पनीले यो शर्ट–फर्म भिडिओमा आधारित मोबाइल एप लन्च गरेको थियो । यसको उद्देश्य चीनबाहिरका मानिसलाई यो एपतर्फ आकर्षित गर्नु थियो । बाइटडान्स कम्पनीले चीनमा पनि टिकटक जस्तै शर्ट–फर्म भिडिओ शेयरिङ एप चलाउँदै आएको छ, जसको नाम डोइन हो ।

वाल्ट डिज्नीका पूर्वकार्यकारी प्रमुख केभिन मेयर टिकटक एपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । टिकटक प्रयोगकर्तासँग जोडिएको तथ्याङ्क चीनमा सङ्कलन गरेर नराखिने उनले बताएका थिए ।कम्पनीका अनुसार चीन सरकारले अहिलेसम्म उसँग यस किसिमको कुनै पनि जानकारी मागेको छैन ।

तर हङकङमा चीनले नयाँ सुरक्षा कानुन बनाएपछि चिनियाँ अधिकारीहरुलाइै अत्यधिक अधिकार मिलेको छ र यही कारण प्रयोगकर्ताको डाटाको गोप्यतालाई लिएर चिन्ता बढेको हो ।यसैबीच अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले फक्स न्युजसँग भनेका छन्, ‘अमेरिका निश्चित रुपमा टिकटकसहित चिनियाँ सामाजिक सञ्जाल एप प्रतिबन्ध लगाउनेबारेमा विचार गरिरहेको छ ।’उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसबारेमा यसअघि केही नभनेको तर अब अमेरिकाले विचार गरिरहेकाे बताए ।

प्रतिकृया दिनुहोस्