Saturday, December 5

पर्वतको दुर्लुङमा पहिरोले ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि, श्रीमान श्रीमतीलाई एउटै चितामा जलाइयो !

June 16, 2020 196

पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका छजनाको पर्वतको मोदीवेणीमा सामूहिक दाहसंस्कार गरिएको छ । पहिरोमा परी आठजनाको निधन भएको थियो ।

छजनाको मोदीवेणी घाटमा दाहसंस्कार गरिएको हो भने अरु दुईजनाको छिमेकी जिल्ला बागलुङको पैंयुथन्थाप लगेर दाहसंस्कार गरिएको हो । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।

तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका छन् । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोरा छोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिएका हुन् ।

त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिपा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिपा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार डिरपाको विवाह बागलुङको पैयूँथन्थापमा भएको थियो। उनी लकडाउनको समयलाई सदुपयोग गर्दै माइतीमा बस्न आएको बेलामा छोरासहित पहिरोमा परेकी हुन्। डिरपाको घर पक्षले आफ्नै घाटमा लगेर अन्त्येष्टि गर्ने बताएपछि २ जनाको शवलाई पर्वत अस्पतालमा पोस्टमार्टम गरेपछि परिवारको जिम्मा लगाएर बागलुङ पठाइएको थियो ।

तुलबहादुरका छोरा अम्मर थापा र बुहारी रिमाया थापा भने ज्यान जोगाउन सफल भएका छन् । उनीहरु घरदेखि झण्डै पाँच सय मिटर परको डाँडामा पसल सञ्चालन गर्दै आएका थिए । उनीहरु पसलमै रहेका कारण ज्यान जोगिएको स्थानीय ऋषिराम पौडेलले जानकारी दिए ।

यता कमला विकका श्रीमान् विकास विक भने रोजगारीका लागि साउदीमा रहेका छन् । उनी लकडाउन खुलेलगत्तै स्वदेश फर्किने तयारीमा थिए । तुलबहादुरी छोरी दीपाको घर बागलुङको जैमिनी नगरपालिका–१ पैँयुथन्थाप हो । उनी कुश्माबजारमा छोरा पढाएर बस्दै आए पनि यतिबेला माइतीमा बसेकी थिइन् । उनका श्रीमान्समेत रोजगारीका लागि खाडी मुलुक साउदीमा रहेका छन् ।

शनिबार राति साढे ८ बजेको समयमा आएको पहिरोमा ९ जना बेपत्ता भएका थिए। शनिबार राति र आइतबार गरेर ८ जनाको शव फेला परेको भए पनि कमलाका छोरा १३ वर्षीय जेनिश बि.क. भने अझै पनि बेपत्ता छन्। आइतबार दिनभर उनको खोजीका लागि पहिरो गएको स्थान खनिएको भए पनि उनी फेला पर्न सकेका छैनन्। सोमबार पनि बिहानैदेखि जेनिशको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीयवासी लागिपरेको भए पनि अविरल रूपमा भइरहेको वर्षाका कारण खोजतलासमा समस्या भइरहेको वडाध्यक्ष पाध्याले बताए।

प्रतिकृया दिनुहोस्