Friday, December 4

सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको नि8धन

June 10, 2020 213

बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको निधन भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको निधन भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको निधन भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको निधन भएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको निधन भएको भने लम्कीचुहा नगरपालिका–८ गप्का सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक सोही नगरपालिका–९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको निधन भएको छ ।

त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्याङ्करलाई अर्को ट्याङकरले ठक्कर दिँदा रोकिएको ट्याङ्करका चालक भारतीय नागरिकको ज्यान गएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा बालुवा बोकेको ट्र्याक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी तीन वर्षीया सम्झना कुमारीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै निधन भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्