Monday, January 25

विद्यालयमा पानी शुद्धीकरण मेशिन जडानः शिक्षक र विद्यार्थी खुशी

March 11, 2020 270

गोरखा, २८ फागुन । गोरखाको पालुङटार नगरपालिका–४ लुइँटेलमा स्थित श्री अमरज्योति जनता माध्यमिक विद्यायलमा करिब रु ५० लाखको लागतमा पानी शुद्धीकरण मेशिन जडान गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको अभाव हँुदै आएपछि गोरखा फाउण्डेशन नेपालको समन्वयमा पानी शुद्धीकरण मेशिन जडान गरिएको विद्यालयका प्रधानध्यापक माधवराज देवकोटाले जानकारी दिनुभयो ।

“अहिले छ वटा च्याम्बर मेशिन राखिएको छ”, उहाँले भन्नुभयो, “एउटा मेशिनले पानीमा रहेका आइरन, एल्मुनियम, म्याग्नेसियमजस्ता पदार्थ फिल्टर गर्छ, अनि पानीलाई नरम बनाउने काम गर्छ र अर्को मेशिनले शरीरलाई आवश्यक पर्ने लवण थप्छ ।” मेशिनबाट प्रशोधित भएर पानीट्याङ्कीमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रधानध्यापक देवकोटाका अनुसार अहिले करिब एक हजार ८०० मिटर दूरीमा रहेको धारापानी मुहानबाट विद्यालयमा पानी ल्याइएको छ । “मुहानबाट ल्याइएको पानी मेशिनबाट प्रशोधित हुँदै पानी शुद्धीकरण भएर ट्याङ्कीमा जम्मा हुन्छ”, उहाँले भन्नुभयो, “पानी सङ्कलनका लागि एक हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीको व्यवस्था गरिएको छ ।”

जडान गरिएको मेशिनले एक घण्टामा करिब एक हजार ५०० लिटरसम्म पानी फिल्टर गर्नसक्ने उहाँले बताउनुभयो । पानी शुद्धीकरण मेशिन राख्नका लागि विद्यालयले रु दुई लाख ५० हजारको लागतमा सुरक्षित अस्थायी घरसमेत निर्माण गरेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो । “शुद्धीकरण भएको पानी विद्यार्थी तथा शिक्षकले पिउनका लागि चार वटा धारा जडान गरिएको छ”, उहाँले भन्नुभयो, “धाराबाट बोतलमा थापेर मात्र पानी पिउने व्यवस्था मिलाएका छाँै, तर हातमुख धुन अर्कै धाराको प्रयोग गर्नुपर्छ ।”

गोरखा फाउण्डेशन नेपालको समन्वयमा मेशिन जडान गरिएको उहाँले बताउनुभयो । मेशिन जडानका क्रममा फाउण्डेशनले विद्यालयका तीन शिक्षकलाई वाटर पिउरोलोजिष्टसम्बन्धी एक दिने तालीमसमेत प्रदान गरेको थियो । विद्यालयमै स्वच्छ पिउनेपानीको सुविधा भएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै खुशी भएका छन् ।

उपचार गर्न आठ लाख सहयोग
गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत गर्नुहुने श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत हुनुहुन्छ । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण गरिएको हो ।

अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग सङ्कलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताउनुभयो । जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरुले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।

प्रतिकृया दिनुहोस्