Sunday, November 29

आमाको निधन भएको थाहा नपाएका यी बालक, आमाको मृत शरीरबाट ओढ्ने तान्छन् र आफ्नो टाउको छोप्छन् (हेर्नुहोस् भिडियो)

June 7, 2020 318

बीबीसी – भारतमा लकडाउनको ६२ औँ दिन। एक साना बालक पूर्वी भारतको बिहारमा रहेको मज्जफरपुर रेलवे प्लेटफर्ममा हलचल नगरी लडिरहेकी आफ्नी आमालाई बिउँझाउने प्रयास गरिरहेका छन्। लाउडस्पीकरमा आगमन र प्रस्थानबारे जानकारी बजिरहेको छ। आमाको मृ त्यु भएको थाहा नपाएका ती बालक मृत शरीरबाट ओढ्ने तान्छन् र आफ्नो टाउको छोप्छन्। घटनाको दुई दिनपछि यी दर्दनाक दृश्यहरू सामाजिक सञ्जालमा व्याप्त भए।

मृतक महिला अहमदाबादमा ज्यालादारी मजदुरी गर्ने २३ वर्षीया अरबिना खातुन भएको पहिचान गरिएको छ। उनी आफ्ना दुई साना सन्तान र केही आफन्तसँग श्रमिकका लागि व्यवस्था गरिएको विशेष रेलबाट १,८०० किलोमिटर लामो यात्रा गरी आफ्नो गाउँ जाँदै थिइन्। “उनले रेलमै ज्यान गुमाइन्, “ उनका देवर वाजिरले बीबीसी हिन्दीसँग भने। उनका अनुसार यात्रा सुरू गरेपछि उनीहरूले एकपटक मात्रै खाना खाएका थिएन र त्यसपछि बिस्कुटमात्रै खाएका थिए।

स्थानीय सञ्चारमाध्यमले कोरोनाभाइरसका कारण ज्यान गुमाएका अन्य ज्यालादारी श्रमिक जस्तै भोक र प्यासका कारण उनको ज्यान गएको जनाएका छन्। स्थानीय अधिकारीहरूले चाँहि पुरानो रोगले उनको ज्यान लिएको भनिरहेका छन्।

लकडाउनपछि शरणार्थी

अरबिना खातुन भारतमा लकडाउन मार्च २५ मा लकडाउन सुरू भएयता मे महिनाको २६ तारिखसम्म ज्यान गुमाएका ३०० भन्दा बढी श्रमिकमध्ये एक हुन्। रातारात रोजगार गुमाएपछि घर जान सङ्घर्ष गर्दागर्दै उनीहरूको मृत्यु भएको हो।

भारतको सहरी क्षेत्रमा जीवन निर्वाहका लागि अनौपचारिक क्षेत्रमा काम गर्ने ज्यालादारीका मजदुरको सङ्ख्या निकै ठूलो छ। भवन निर्माणदेखि खाना पकाउने, रेस्टुराँ, पानी र सरसफाइको काम गर्ने उनीहरू सहरको विशाल अर्थतन्त्रको मेरूदण्ड मानिन्छन्। गरीबीबाट उम्कने प्रयास गरिरहेका अनुमानित १० करोड ज्यालादारी मजदुर लकडाउन घोषणा भएसँगै घरसम्म लैजाने रेल वा बस नहुँदा रातारात शरणार्थी बन्न पुगे।

यस्तोमा सस्ता झोलामा खाना, पानी र कपडा बोकेर कतिपयले आफ्ना बच्चा लिएर पैदल यात्रा थाले। उनीहरूले पैसा सकिएको र भौकै पर्ने भय पनि व्यक्त गरेका थिए तर गाउँमा पुगेपछि खाना पाइने र परिवारसँग रहन पाइने आशा गरेको उनीहरू बताउँछन्।

‘कम्तीमा मेरा बच्चाहरू देख्न पाउँछु’

मुम्बईमा सुरक्षा गार्डको काम गर्ने लल्लुराम यादव लकडाउनका कारण शरणार्थी बन्नेमध्ये एक थिए। हप्ताको छ दिन काम गर्ने उनी हरेक आइतवार गाउँ एवम् श्रीमती र छ सन्तानका लागि गरिरहेको सङ्घर्षको चर्चा गर्न आफ्ना भतिजा अजयकुमारलाई भेट्न जान्थे। तर लकडाउनपछि अजय र लल्लुरामको खर्च सकियो र त्यहाँ बसिरहने अवस्था भएन। लल्लुरामले आफ्नो परिवारलाई सम्पर्क गरे र बच्चाहरूसँग समय बिताउन गाउँ आउन चाहेको बताए।

अब उनले १,४०० किलोमिटर लामो यात्रा तय गरेर उत्तर प्रदेशको अलाहवाद पुग्नु थियो। लरी चालकले यात्राका लागि चर्को रकम माग गरेपछि उनीहरूले सानो झोला कसे र अन्य चार जनासँग पैदल यात्रा सुरु गरे। पहिलो ४८ घण्टामा ठाउँठाउँमा सहयोग माग्दै उनीहरूले ४०० किलोमिटर यात्रा तय गरे तर यात्रा सोचेभन्दा कठिन थियो। “एकदमै गर्मी थियो र हामी चाँडै थाकिरहेका थियौँ। हामीले लगाइरहेका छालाका जुत्ताका कारण पाइला चाल्नै गाह्रो भइरहेको थियो।”

एक साँझ लल्लुरामले सास फेर्न गाह्रो भइरहेको बताए। उनीहरू भर्खरै मध्य प्रदेशमा प्रवेश गर्दै थिए र अझै लामो यात्रा तय गर्न बाँकी नै थियो। एकछिन आराम गर्ने निर्णय गर्दै सबैजना बसे तर लल्लुराम त्यसपछि कहिल्यै उठेनन्।

अस्पतालले उनको मृ त्यु थकान र कठोर परिश्रमका कारण हृदयघात भएर भएको बतायो। लल्लुरामले आफ्ना छोराछोरीसँग समय विताउने वाचा पनि पूरा गर्न पाएनन्। अजय भन्छन् “भोकमरी र लामो यात्रामध्ये एक चुन्न खोज्दा उनले ज्यान गुमाए। गरिब मानिसहरूले यस्तै खराबबाट राम्रो रोज्नुपर्छ र उनीजस्ता गरिबका हकमा त्यसले आक्कलझुक्कलमात्रै काम गर्छ।”

तयारीबिनाको लकडाउन

यस्ता घटनाहरूका विवरण आउन थालेपछि भारतमा राज्य सरकारले यातायत, खानेकुरा र आवासको बन्दोबस्त गर्न प्रयास गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरूद्धको सङ्घर्ष जित्न कठोर कदमहरू चाल्नुपरेको र त्यसबाट गरिब मानिसमा परेको दुखप्रति माफी मागेका थिए।

अधिकारीहरूले जीवन बचाउन लकडाउनले महत्वपूर्ण भूमिका खेलेको बताए। तर धेरै नागरिक योजनाबिना कदम चल्नाले मानवीय सङ्कट देखिएको बताउँछन्। मे महिनामा सरकारले श्रमिकहरूका लागि विशेष रेल सञ्चालन गर्न सुरु गरे पनि टिकटको मूल्यलाई लिएर चर्को विवाद भयो।

दिनको २०० देखि ६०० भारतीय रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकका लागि ८०० रुपैयाँसम्म तोकिएका टिकट महङ्गो भएको भन्दै नागरिक समाजले त्यसलाई ‘अमानवीय’ भन्यो। प्रमुख विपक्षी कंग्रेसले टिकटको मूल्य आफूले तिरिदिने बतायो।

तर कैयौँ श्रमिकले टिकट बुक गर्न सकेनन्। धेरैलाई यी सेवा सुरु गरिएको थाहा पनि भएन। मे महिनाको मध्यसम्म भारत सरकारले श्रमिकहरूलाई नि:शुल्क खाना व्यवस्था कोभिड लकडाउनका कारण परेको प्रभाव नियन्त्रणका लागि बनाइएको २६६ अर्ब डलर बराबरको आर्थिक योजनामा समावेश गरेको थियो। हालैका हप्तामा झण्डै ४० लाख कामदारहरू रेलबाट आफ्ना गाउँसम्म यात्रा गरेको विवरण आएको छ।

रेलवे विभागले कम्तीमा ८० जनाले ज्यान गुमाएको भन्दै क्यान्सर र अरू गम्भीर रोगका कारण उनीहरूको मृत्यु भएको उल्लेख गरेको छ। मृतकमध्ये एक जनालाई कोभिड-१९ भएको ठानिएको छ।रेलमा यात्रा गरेका कतिपयले लामो समय रेल त्यसै रोकिएको, खाना वा पानी नपाएको र कष्टकर यात्रा गरेको अनुभव सुनाएका छन्।

रेलवे मन्त्री पीयुष गोयलले केही घटना भएको स्वीकारे पनि रेलवे कर्मचारीको कडा मेहनतमाथि प्रश्न गर्न नहुने बताएका छन्। भारतमा ज्यालादारी मजदुरहरूलाई अहिले घर फर्कन सहज भइरहेको छ तर लकडाउनले सबैभन्दा गरिबलाई पारेको प्रभाव लामो समय रहिरहने आकलन गरिएको छ। रेल चढ्न प्रतिक्षारत यात्रुहरूको कोभिड-१९ को लक्षण परीक्षण गर्ने गरिएको छ

पश्चताप

सत्र वर्षका जयकृष्ण कुमार आफ्ना बुबा बलरामलाई लकडाउनको समयमा घर फर्कन भनेकोमा पश्चताप गर्छन। बिहारको खगडिया गाउँका बलराम गुजरातमा काम गर्दै थिए। प्रहरीको अनुरोधपछि एउटा मालवाहक ट्रक बलराम र उनका साथीलाई घर फर्कन सहयोग गर्न तयार भयो।

तर राजस्थान राज्यमा रुखमा ठोक्किएर दुर्घटना हुँदा बलरामको अस्पतालमा निधन भयो। जयकृष्ण भन्छन्, “त्यो दुर्घटनाले मेरो बुबा र शिक्षित हुने मेरो सपना चुँडेर लग्यो।” “मलाई सहरमा काम गर्न जान मन छैन। तर अब मसँग के विकल्प छ?”

प्रतिकृया दिनुहोस्