Wednesday, December 2

आज लाग्दैछ विशेष प्रकारको चन्द्रग्रहण, हुने छ यस्तो प्रभाव

June 5, 2020 271

काठमाडौं, २३ जेठ । आज शुक्रवार राति चन्द्रग्रहण लाग्दैछ । ग्रहण आज शुक्रवार राति ११ बजेर १ मिनेटमा सुरु भएर शनिबार बिहान २ बजेर १९ मिनेटमा समाप्त हुने बताइएको छ । ग्रहणको मध्यअवधी १२ बजेर ३९ मिनेटमा हुने र त्यसको प्रभाव अधिक हुने ज्योतिषशास्त्रीहरुले बताएका छन । आजको ग्रहणले त्यती धेरै बदलाव नआएपनि केही धमिलो मात्र देखिने ज्योतिषशास्त्रीहरुले बताएका छन् ।

आजको चन्द्र ग्रहणलाई ज्योतिष शास्त्र अनुसार मान्दी ग्रहण अर्थात उपछायाँ ग्रहण भन्ने नाम दिइएको छ । आजको उपछायाँ चन्द्रग्रहणमा पृथ्वीको छायाँको भाग चन्द्र सतहमा पर्दा सूर्यको प्रकाश छेकिन्छ । यसैलाई उपछायाँ चन्द्र ग्रहण भनिन्छ । ग्रहण नेपाल, भारतलगायत एसिया, युरोप, अष्ट्रेलिया र अफ्रिकाबाट देख्न सकिन्छ ।

ज्योतिषशास्त्र अनुसार आजको चन्द्र ग्रहणलाई ग्रहण भनिदैन । त्यसैले आज राती हुने चन्द्र ग्रहणको सुतक पनि लाग्नेछैन ।आज लाग्ने भनिएको ग्रहण दोस्रो उपछायाँ चन्द्र ग्रहण हो । यसअघि पनि गत पौष २५ गते शुक्रबार उपछायाँ चन्द्र ग्रहण लागेको थियो ।

त्यसैगरि आगामी असार ७ गते आईतबार सूर्यग्रहण लाग्नेछ । यस पटक ३० दिनको अन्तरालमा तीन ग्रहण लाग्नेछन । आजको उपछायाँ चन्द्र ग्रहण, आगामी असार ७ मा लाग्ने सूर्य ग्रहण र असार २१ गते लाग्ने चन्द्र ग्रहण गरि तीन वटा ग्रहण लाग्नेछ ।

वैज्ञानिकहरुका अनुसार ग्रहण एक खगोलीय घटना हो । चन्द्र ग्रहणका बेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ । सूर्यको प्रकाश पृथ्वीद्वारा छेकिएर चन्द्र सतहमा अध्याँरो हुने प्रकृयालाई चन्द्र ग्रहण भनिने खगोलशास्त्रीहरुको तर्क छ । सूर्य ग्रहणको तुलनामा चन्द्र ग्रहण सहज रुपमा हेर्न सकिने खगोलविद्हरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्